April 18, 2026, Saturday
२०८३ बैशाख ५

जलवायु सङ्कटले गरिबीः गरिबीले बालविवाह झन् विकराल


सोनाम लामा, बाजुरा (हिमालखबरबाट साभार)
‘मुलाई क्यै थाह भयानाईं !’ 
पीडा र थकाइले खुम्चिएको मुहार अझ खुम्च्याउँदै बिर्जमानले दुःख बिसाए। त्यसअघि उनले भारी बिसाए। मुक्तिकोट गाउँका बासिन्दा उनी अर्धचेत बुहारी रेतीलाई बोकेर स्वास्थ्यचौकी आइपुगेका थिए। स्वास्थ्यचौकी पुग्न गाउँबाट तीन घण्टा ओह्रालो झर्नुपर्छ। 
तीन महीनाकी गर्भवती रेती निरन्तर रक्तस्रावले इन्तु न चिन्तु थिइन्। केही बेरको उपचारपछि उनको ज्यान त जोगियो। तर, पेटमा हुर्किंदो ‘भविष्य’ जोगिएन। १६ वर्षमै बिहे अनि २२ वर्ष पुग्दा दुई सन्तानकी आमा। गर्भावस्थामा कमजोरी र शारीरिक बोझ उत्तिकै। गर्भ खेर जानुमा स्वास्थ्यकर्मीले यिनै कारण औंल्याए। पति भारतमा मजदूरी गर्छन्। बच्चा हुर्काउने, गाईबस्तु हेर्ने, पानी ल्याउने जस्ता घरका जे(जति काम छन्, सबै रेतीकै थाप्लामा। 
“फार्मेसीमा यस्ता केस प्रायः आइरहन्छन्,” गोपाल सिंहले भने, “दिनहुँ गर्भपतन भइरहन्छ।” किशोरावस्थामै गर्भ बोक्दा यस्तो जोखिम बढ्दो छ। कानूनले २० वर्ष नपुगी बिहे गर्नुलाई अपराध मान्छ। तर, दलित समुदायको बाहुल्य रहेको मुक्तिकोटमा यो कुरा सामान्य हो।
बालविवाहका लागि निरक्षरता, गरीबी र सांस्कृतिक मूल्य(मान्यतालाई दोषी औंल्याइँदै आएको छ। तर, पछिल्लो समय लगातारको खडेरी र बाढीपहिरो जस्ता कारण पनि बालविवाह बढाउन सहायक देखिएका छन्। 
गत हिउँदमा पश्चिम नेपालले ६ महीना खडेरी भोग्यो। जङ्गलमा महीनौं डढेलो लागिरह्यो। यस वर्षको मनसुनमा चाहिं पर्याप्त पानी परेकाले किसानहरू बाली फस्टाउने आशमा थिए। तर, दुई महीनाअघिको बेमौसमी वर्षाले बिगारिहाल्यो। वैज्ञानिकहरू तापमान वृद्धिका कारण अनिश्चित मनसुन र खडेरी जस्ता प्राकृतिक समस्या बढेको बताउँछन्।
विपत्तिले बाली बिग्रिएर अन्नै जुटाउन मुश्किल परेपछि विपन्न समुदायले ‘खाने मुख’ घटाउने उपाय सुझाएका छन्( छोरीलाई बिहे गरेर पठाइदिने। तर, अत्यधिक शारीरिक श्रम, अपरिपक्व उमेरमा गर्भधारण र पोषणयुक्त खानपिन अभावमा छोरीहरूको जीवन जोखिममा परिरहेको छ।
पुरा सामाग्री पढ्न हिमाल खबरको यो लिंकमा जानुुहोस् । https://www.himalkhabar.com/news/126863