प्रदेशमा केन्द्रित कांग्रेस नेता : उम्मेदवार टुंग्याउन दुवै पक्षलाई कठिन

काठमाडौँ, मङ्सिर १६ (ई-रैवार)
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत संस्थापन र इतर पक्षका शीर्ष नेताहरू आ–आफ्नो समूहको उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन्। आज (बिहीबार) सबै प्रदेशका राजधानीमा प्रदेश अधिवेशन सुरु हुँदैछ।
मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशको परिणामले केन्द्रीय महाधिवेशन र नयाँ नेतृत्व चयनमा प्रभावित गर्ने भएकाले दुवै पक्षका नेताहरू टिम निर्माण गरेर प्रतिस्पर्धामा जुटेका हुन्।
उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा संस्थापनइतर दुवै समूहका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन्। पार्टीका केन्द्रीय नेताहरू प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न प्रदेशप्रदेशमा केन्द्रित भएका छन्।
यद्यपि प्रदेश प्रतिनिधिहरूको नाममावलीलाई केन्द्रीय निर्वाचन समितिले अन्तिम रूप दिन नसक्दा नेतृत्व चयन प्रक्रिया केही दिन धकेलिएको थियो। तर, बिहीबार समितिले मतदाता नामावली प्रकाशन गर्न नसके शुक्रबार पनि प्रदेशको नेतृत्वका चयनका लागि उम्मेदवारी मनोनयन धकेलिन पनि सक्ने स्रोतको दाबी छ। तर, दुवै पक्षका नेताहरू प्रदेशमा आ–आफ्नो समूह निर्माणमा सक्रिय छन्।
सभापति शेरबहादुर देउवासहित संस्थापन र इतर पक्षले सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी दिंदै प्रदेश सभापतिसहित कार्यसमितिको टिम निर्माण गर्न लागि परेका छन्।तर, बुधबार साँझसम्म दुवै पक्षले सातै प्रदेशमा सभापतिसहितको प्यानल बनाउन सकेको छैन।
केही प्रदेशको सभापतिको टुंगो लगाए पनि नेताहरू रातिसम्म नाम टुंगो लगाउन सक्रिय छन्। पार्टीभित्र रहेको दुई मुख्य गुटसहित अन्य साना समूहलाई समेटेर अघि बढ्न संस्थापन र इतर पक्ष देखिएको छ।
संस्थापन पक्षले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर प्रदेश नेतृत्व आफ्नो पक्षमा पार्न लागि परेका छन्। प्रदेश १ र बागमती प्रदेशमा सिटौला पक्षले नेतृत्व दाबी गर्दै आएका छन्।
सिटौला निकट नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरिकेको छन्।
तर, बुधबार मात्र संस्थापन पक्षबाट कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन्। सिटौलासँगसमेत छलफल गरेर प्रधानको उम्मेदवारी फिर्ता गराउने प्रयासमा संस्थापन पक्षका नेताहरू जुटेका छन्।
संस्थापनइतरबाट बागमती प्रदेशको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पाएका पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापा चाक्सीबारीमा छलफलमा जुटेका छन्। संस्थापनइतर समूहबाट जगदीशनरसिंह केसी, रमेशप्रसाद धमला, मधु आचार्य, राजुराज जोशी आकांक्षी छन्। उनीहरूमध्येबाट रातिसम्म नाम टुंगो लगाउने जानकारी दिँदै बैठकमा सहभागी एक नेताले केसीलाई तोकिएको भएको बताए।
संस्थापन पक्षबाट असन्तुष्टि जनाउँदै सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ सहित केही प्रदेशमा छुट्टै समूह बनाउने प्रयासमा छन्। निधि र सिटौला समूहलाई आ–आफ्नो गुटमा समेटेर प्रदेशको टिम निर्माण गर्न संस्थापन र इतर समूहका नेता सक्रिय छन्। तर, उनीहरूसँग ठोस सहमति जुटिनसकेको निकटको दाबी छ।
प्रदेश एकबाट संस्थापन पक्षबाट अमृत अर्याल र रामहरि खतिवडामध्ये एकलाई सभापतिमा अघि सार्ने तयारी छ। तर, सिटौला समूहसँग मिलेर अघि बढ्दा उक्त प्रदेशबाट उद्धव थापा नेतृत्वको प्रतिस्पर्धामा उत्रिनेछन्। संस्थापनइतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने नेताहरूको तयारी छ। सभापतिका अर्का आकांक्षी राजीव कोइरालालाई पदाधिकारीमा मनाउने तयारी छ।
प्रदेश २ मा उपसभापति निधिले रामसरोज यादवलाई प्रदेश सभापतिमा अघि सार्ने तयारी गरेका छन् भने अजय चौरासिया, कृष्ण यादवका साथै अजय द्विवेदी संस्थापन पक्षबाट आकांक्षी छन्। उम्मेदवार टुंगो लगाउन छलफल जारी रहेको भन्दै केन्द्रीय सदस्य रमेश रिजालले बिहीबार बिहानसम्म टुंगोमा पुग्ने प्रयास भइरहेको जानकारी दिए। ‘हामी छलफल छौं,’ उनले भने। तर, संस्थापनइतर समूहबाट कसलाई उम्मेदवार बनाउने भन्ने निश्चित छैन। प्रदेश २ को उम्मेदवार टुंगो लगाउन इतर पक्षले पार्टी कोषाध्यक्ष सीतादेवी यादव,रामकृष्ण यादव र किरण यादवलाई जिम्मेवारी दिइएको छ। उनीहरूले रामकुमार यादवलाई अघि सार्ने तयारी गरेको छ।
त्यस्तै, गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुन जोशी मैदान उत्रिएका छन्। संस्थापनइतर समूहले उम्मेदवार टुंगो लगाउन सकेको छैन। संस्थापनइतर समूहको बलियो प्रदेश मानिएको गण्डकीमा शुक्रराज शर्मा, देवराज चालिसे,यज्ञबहादुर थापा र रघुनाथ पौडेल धेरै आकांक्षी छन्। लुम्बिनीमा संस्थापनइतर समूहबाट अमरसिंह पुनलाई मैदान उतार्ने भएको छ भने संस्थापन पक्षबाट भरत शाहलाई उम्मेदवार बनाइको छ।
संस्थापन पक्षले कर्णाली प्रदेशमा राजीवविक्रम शाहलाई सभापतिमा अघि सार्ने भएको छ। तर, संस्थापनइतर समूहबाट दिपक शाह र भूपेन्द्रजंग शाहीमध्ये एकलाई मैदान उतार्ने तयारी गरेको छ। संस्थापनइतर समूहबाट उम्मेदवार टुंगो लगाउने अधिकार पाएका केन्द्रीय सदस्य हृदयराम थानीका अनुसार भेगीय सन्तुलन मिलाएर बिहीबारसम्म सभापतिसहित कार्यसमितिको टुंगो लगाउनेगरी छलफल भइरहेको जानकारी दिए। कर्णाली संस्थापन पक्षको बलियो प्रदेश मानिन्छ।
सभापति शेरबहादुर देउवाको सबैभन्दा प्रभाव रहेको प्रदेश हो सुदूरपश्चिम। उक्त प्रदेशबाट संस्थापन पक्षका नरनारायण शाह (मनु), गोविन्द शाह, अर्जुनजंग सिंह, गोविन्द बोहरा, पुष्पविक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रीय सदस्य एनपी साउँद शाहलाई प्रदेश सभापतिमा अघि बढाउन चाहन्छन् भने अर्का केन्द्रीय सदस्य रमेश लेखक मनुलाई मैदान उतार्ने योजनामा छन्।
देउवा निकट दुबै नेता आआफ्ना उम्मेदवारलाई अघि सार्न सक्रिय रहँदा साँझसम्म संस्थापन पक्षले उम्मेदवार टुंगो लगाउन सकेको छैन। साउँद र लेखक निकटहरूलाई अघि सार्ने अडानबाट पछि नहटे सभापति देउवाले केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई मैदान उतार्ने तयारीमा छन्। तर, बलायरले प्रदेश सभापतिको उम्मेदवार नबन्ने बताउँदै आएका छन्। संस्थापनइतरबाट भरत खड्कालाई अघि सार्ने उनीहरूको तयारी छ। उम्मेदवारको टुंगो लगाउन केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डे बुधबार धनगढी पुगेका छन्।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सम्पन्न अधिवेशनको प्रारम्भिक परिणामअनुसार प्रदेश एकमा संस्थापन इतर समूह बलियो रहेको जनाइएको छ भने पूर्वमहामन्त्री सिटौला पक्षसँग संस्थापन पक्ष मिलेर अघि बढ्दा इतर समूह कमजोर हुने आकलन गरिएको छ। प्रदेश नम्बर २ मा उपसभापति निधि नै मजबुत हुने दुबै पक्षको बुझाइ छ।
बागमती प्रदेशमा संस्थापन र सिटौला समूह मिल्दा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। तर, संस्थापन पक्षले बानियाँलाई अघि सारेपछि सिटौला समूहको अबको भूमिका के हुन्छ स्पष्ट भएको छैन।
गण्डकी प्रदेशमा संस्थापन इतरले आफ्नो अवस्था मजबुत रहेको दाबी गर्दै आएको छ भने सिटौला पक्षको सहयोग लिएर संस्थापन पक्ष परिणाम आफ्नो पक्षमा पार्न लागि परेको छ। लुम्बिनीमा दुवै पक्षले आ–आफ्नो अवस्था मजबुत रहेको दाबी गरे पनि कर्णाली र सुदूरपश्चिम प्रदेश संस्थापन पक्ष बलियो देखिएको छ। तर, उक्त समूहबाट बाहिरिएका निधिनिकट नेताहरूको भूमिका कस्तो हुन्छ भन्नेले परिणाममा असर पर्ने दुवै पक्षको बुझाइ छ। नागरिक दैनिकबाट





प्रतिकृया दिनुहोस्