गाउँको मुहार फेर्दै कञ्चनपुरको बेलडाँडीका पौरखी महिला

कञ्चनपुर, कात्तिक २८ (ई-रैवार)
महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ, घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन्। दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन्।
सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन्। सहकारीमा गाउँका ८३ महिला आवद्ध छन्। मासिकरूपमा रकम बचत गरी आयआर्जनका कार्यक्रममा लगानी गरी अर्थोपार्जन गर्ने कार्यदेखि समाज सुधारका कार्यमा महिलाले अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन्। विकास निर्माणका काममा श्रमदान गर्ने र समाजमा देखिएका विकृति– विसङ्गतिविरुद्ध सचेतना छर्ने कार्यमा एकापसमा छलफल गरी महिलाहरूले सहभागिता जनाउँदै आएका छन्।
“महिलालाई पहिला घरभित्रको भूमिकामै सीमित राखिँदै आएको थियो”, सहकारीका अध्यक्ष मीनादेवी डगौराले भनिन्, “अधिकांश समय घरकै काममा व्यस्त हुँदा समाजमा महिलाको भूमिका नगन्य हुन्थ्यो। पुरातन सोचले ग्रसित मान्यतालाई तोडदै गाउँमै समूह बनायौँ। समूह बनाउँदा महिलाले के नै गर्न सक्लान् भनेर नानाथरी कुरा सुन्नु पर्दथ्यो। त्यसको बेवास्ता गर्दै अगाडि बढ्दै गयौँ।”
उनले भनिन्, “पालैपालो बोल्ने नियम बनाई समाजका अगाडि उभिन सक्ने भयौँ। बोल्न सक्ने भयौँ। त्यसपछि अधिकारका लागि सङ्गठित भई समाजमा नेतृत्वदायी भूमिका खोज्न थाल्यौँ। त्यसका लागि नाइनास्ती गर्ने कार्य हुन्थ्यो। एकजुट भएर आवाज बुलन्द गर्दा अहिले महिलाले पनि समाजका लागि केही गर्न सक्छन्। त्यसका लागि भूमिका दिनुपर्छ भन्ने भावना पैदा भएको छ।”
विद्यालय व्यवस्थापन समिति र सामुदायिक वनको उपभोक्ता समितिमा सहभागिता गराउन थालिएको उनले बताइन्। गाउँको विकासका लागि आउने बजेटका लागि महिला वडा र नगरपालिका कार्यालयसम्म गएर वकालत गर्दै आएका छन्। गाउँमा हुने सांस्कृतिक, सामाजिक र विकास निर्माणमा अहिले महिला नै अग्रस्थानमा देखिने गरेका छन्।
सहकारीले आत्मनिर्भर बनाउँदै
समूहलाई महिलाहरूले सहकारीमा परिणत गरेको तीन वर्ष पुगेको छ। सहकारी विधिवतरूपमा दर्ता गरी सञ्चालन भएपछि महिलाहरूले कृषिलाई आधुनिकीकरण गरी बेलडाँडी गाउँको परिचय नै फेरेका छन्। महिलाले बेलडाँडीलाई तरकारी खेती हुने गाउँका रूपमा परिचित गराएका छन्। व्यावसायिक तरकारी खेती गर्नका लागि महिलाहरूले तालिम लिएका छन्।
अन्न उत्पादन गर्दा वर्षभरि खान नपुग्ने खेतमा तरकारी उत्पादन हुन थालेको छ। खेतमा उत्पादन भएको तरकारी बेचेर महिलाहरूले वर्षभरि खानका लागि अन्नको जोहो मात्रै गर्दैनन्। श्रीमान्को पकेट खर्चसमेत धान्ने गरेका छन्। मौसमी र बेमौसमी तरकारी खेती गरेर आउने आम्दानीको रकम महिलाहरूले घर खर्च, बालबालिकाको विद्यालयको खर्चसँगै भविष्यका लागि रकम बचतसमेत गर्न थालेका छन्।
महिलाहरूले तरकारी रोप्ने, स्याहार्ने, रोग किरा नियन्त्रण गर्ने कार्यसँगै बजारमा लगेर बेच्ने कार्यसमेत गर्दै आएका छन्। महिलाहरूको कार्यमा परिवारका अन्य सदस्यले समेत सघाउने गरेका छन्। “पहिला घरको कमाउने श्रीमान्मात्रै हुन्थे”, सहकारीका सचिव रुपाकुमारी चौधरीले भनिन्, “मजदुरी गरेर ल्याइने रकममा पूरै परिवारको खर्च धान्नुपर्ने अवस्था थियो।
हाल व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि परनिर्भरताको अन्त्य भएको छ। श्रीमानलाई हाल तरकारी बिक्री गरेर आउने रकममध्ये केही हामीले पटेक खर्चका लागि दिने गरेका छौँ। पहिला महिलाले कमाएको रकम लिन हिचकिचाउँथे। अहिले त्यसलाई सहजरूपमा स्वीकार गर्दै आएका छन्।”
सहकारीमा आवद्धमध्ये ४० तरकारी खेती, १० आलु खेतीमा, १५ विजबृद्धि, पाँच कुखुरापालनमा, दुई बङगुरपालनमा र दुई जना बाख्रपालनमा गरी ६४ महिला व्यावसायिक कार्यमा संलग्न छन्। व्यावसायिक कार्यमा संलग्न महिलालाई सहकारीबाट सहुलियत ब्याजमा आव २०७७÷७८ मा छ लाख २७ हजार रकम लगानी गरेका छन्।
कृषि तथा सिँचाइ अनुदानवापत १३ लाख ३३ हजार १२५ रकम व्यावसायिक कृषि कार्यमा संलग्न महिलालाई उपलव्ध गराइएको छ। तरकारी खेतीका लागि टनेल निर्माणका लागि एक लाख एक हजार ४२६ रकम अनुदानस्वरुप उपलव्ध गराइएको छ। विजवृद्धिमा लागेका महिलालाई धान सुपरजोन कार्यक्रममार्फत १० लाख ७३ हजार ९३६ रकम उपलब्ध गराइएको छ। अनुदानको रकमबाट पावरटिलर, स्प्रे ट्याङ्की, मल्चिङका लागि प्लाष्टिक खरिद, सिँचाइका लागि बोरिङ जडानलगायतका कार्य गरिएको सहकारीका सचिव रुपाकुमारीको भनाइ छ।
कृषि कार्यका लागि गोरुको प्रयोग हुने ठाउँमा हाल पावरटिलरले खेत जोत्ने कार्य हुँदै आएको छ। सहुलियरूपमा व्यावसायिक कृषि कार्यमा संलग्नलाई सघाउ पु¥याउन दुई लाख ८५ हजार २६५ रकम खर्चेर रासायनिक मल घरदैलोमै उपलब्ध गराइएको सहकारीका उपाध्यक्ष सीमा चौधरीले बताए।
महिलाहरूले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लकका कार्यक्रमसमेत सञ्चालन गरेका छन्। महिलाहरूले पाँच कठ्ठादेखि डेढ बिघा खेतमा तरकारी खेती गरेका छन्। यस वर्षको हिउँदे तरकारी बाली रोप्ने बेला परेको बेमौसमी वर्षाले तरकारीका बिरुवा नै सखाप पारेपछि महिलाहरूले दोस्रोपटक तरकारी रोपेका छन्।
आगामी योजनामा महिलाले सहकारीको भवन निर्माणका लागि ५० लाख र तरकारी ढुवानी गर्ने साधन खरिदका लागि ३० लाख बजेट प्रस्ताव गरेका छन्। आर्थिक स्रोत जुटाउनका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव लैजान लागेको सहकारीका पदाधिकारी महिलाहरूको भनाइ छ। वडाध्यक्ष बहादुरसिंह महरा महिलाहरूले गरेको कार्यको सरहाना गर्न थाक्दैनन्। घरभित्रको पर्खाल तोडेर महिलाले नेतृत्वदायी भूमिका खेलेर पूरै गाउँलाई आत्मनिर्भरतातर्फ डोहो¥याउन मुख्य भूमिका खेलेको बताउँछन्। महिलाहरुलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाबाट समेत कार्यक्रम सञ्चालन गराउनका लागि दबाब दिने उनको भनाइ छ। रासस





प्रतिकृया दिनुहोस्