April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही राजीनामा दिने तयारीमा, मन्त्रिपरिषद निर्णयको पर्खाइमा कांग्रेस

सुर्खेत, कात्तिक १५ (ई-रैवार)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिने तयारी गरेका हुन ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको हुन । ‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले भने, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्री बन्नेछन् ।

कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो गर्ने सहमति भएको थियो । कर्णाली प्रदेश सरकारको आलोपालोका विषयमा भएको सहमति कार्यान्वयनको अन्तिम दिन आज मन्त्रिपरिषदको बैठक बस्न थालेको हो।

वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको नेकपा माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।

अल्पमतमा पर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाउन महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेसले आज मुख्यमन्त्री शाहीको राजीनामा पर्खिरहेको हो। आज बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई कांग्रेसले महत्वपूर्ण बैठकका रूपमा हेरेको छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुअघि कांग्रेस र माओवादीबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भएको छ। ११ बुँदे लिखित सहमतिको एउटा बुँदामा ‘फ्लोर क्रस गरी मन्त्री भएकाहरूको सांसद पद नगएमा साउन १ गतेभित्र र यदि उनीहरूको सांसद पद गएमा कात्तिक १५ गतेभित्र कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने’ छ।

आजै फ्लोर क्रस गरी मन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का तीन जना मन्त्रीको पदावधि पनि सकिँदै छ। उनीहरू अहिले सांसद छैनन्। सांसद नभएको मान्छे बढीमा ६ महिनासम्म मात्र मन्त्री हुने व्यवस्था छ।

सांसद पद गुमेपछि वैशाख १५ गते नियुक्त भएका भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापा, उद्योग मन्त्री नन्दसिंह बुढा र कृषि मन्त्री कुर्मराज शाहीको पदावधि आजदेखि सकिँदै छ।

‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरुलाई शाहीले मन्त्री बनाएका थिए।