April 18, 2026, Saturday
२०८३ बैशाख ५

सिलगढीमा नेवार समुदायले मनाए गाईजात्रा

डोटी भदौ ७ (ई-रैवार)
सिलगढीको नेवार समुदायले सोमबार धुमधामका साथ गाईजात्रा पर्व मनाएका छन् । वर्षभरी मृत्यू भएका आफन्तको सम्झनामा मृतकको घरमा गई गाईको पुजा गरी झाँकी निकालेर बजार परिक्रमा गर्दै गाईजात्रा पर्ब मनाएका हुन् ।
गाईजात्रामा बिशेषगरी बर्षभरी मृत्यू भएका आफन्तहरुको सम्झना गरिने सिलगढी नेवार समुदायका अध्यक्ष गोबिन्द श्रेष्ठले बताउछन् । ‘गाईजात्रामा बर्षभरी मृत्यू भएका आफन्तहरुलाई सम्झने हो,’ उनले भने,‘सम्झने क्रममा गाईको पुजा सहित सबैजसो मृतकका घरबाट एक किसिमको झाँकी निकालेर बजार परिक्रमा गर्ने प्रचलन छ ।’ त्यसक्रममा मृतकका घरबाट ‘टारिटाई’(गाईको मुकुण्डो भिरेको मान्छे) र रथ(अगाडी गाईको टाउको सहितको नमूना भएको) निकालेर बाजागाजा सहित बजार परिक्रमा गरिन्छ ।


मल्लकालमा राजा प्रताप मल्लले राजकुमारको मृत्यू भएपछि विह्वल भएकी रानीलाई सम्झाउन काठमाण्डौमा गाईजात्राको शुरु गरेको थिए भन्ने किम्बदन्ती छ । छोराको मृत्यूपछि रानी निकै बिह्वल हुदैँगएपछि सबैको घरमा मानिस मर्छन, त्यसलाई असहज रुपमा लिनुहुदैन भन्ने सन्देश दिन उनले गाईजात्रा शुरु गराएको मान्यता रहीआएको छ । जसका कारण गाईजात्रामा धेरैका घरबाट मृत्यू भएको सन्देश पाएपछि रानी शान्त भएको भन्ने किम्बदन्ती छ । सोही अनुसार राजधानीका नेवार समुदायले धुमधामका साथ गाईजात्रा मनाउने गर्दछन् ।
धेरैजसोले राजधानीमा मात्रै गाईजात्रा हुन्छ भन्ने बुझेका छन् । तर, नेवार समुदाय बसेका सबैजसो ठाउँहरुमा गाईजात्रा पर्व मनाईदै आएको छ ।
सिलगढीमा पनि करिब १८ औ शताब्दी तिर आएर बसेको नेवार समुदायको बाक्लो बसोबास छ । त्यो समुदायले आफ्नो परम्परा अनुसारका रीतिरिवाजहरु मनाउदै आएको छ । ‘हामी बर्षौ पहिले बसाई सरेर यहाँ पुगेपनि हाम्रा रितिथिति यहाँ पनि गर्दै आएका छौ,’ अध्यक्ष श्रेष्ठले भने,‘हामी नेवार समुदायले मनाउने सबै पर्वहरु मनाउछौ । साथै यहाँ बस्ने क्रममा केही यहाँका संस्कृतीहरु समेत अनुशरण गरेका छौ ।’
यहाँको नेवार समुदायमा लोकसंस्कृती र धर्मकर्ममा निकै ठुलो आस्था रहिआएको पाईन्छ । यो तथ्यलाई सिलगढीमा रहेका प्राचीन मन्दिरहरुले प्रमाणित गर्छन् । ‘हामीसंग असीम आस्था छ । यहि आस्थाले यति टाढा पुग्दापनि हामिले आफ्नो संस्कार जोगाउन सफल भएका छौ,’ अध्यक्ष श्रेष्ठले भने ।