April 18, 2026, Saturday
२०८३ बैशाख ५

एक महिनादेखि साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रु सास्ती भोग्न बाध्य

बाजुरा, साउन ३० (ई-रैवार)

असारको सुरुदेखि भएको अविरल वर्षासँगै पटकपटक अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग खण्डमा पहिरो नरोकिएपछि सवारीसाधनकाे आवतजावत ठप्प छ ।

सदरमुकाम जोड्ने एक मात्र राजमार्गका रूपमा रहेको उक्त सडकको बुढीगङ्गा नगरपालिका–१ मा पर्ने अम्कोटको पहिरोका कारण सडक नियमित रूपमा सुचारु हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य भएका छन् ।

असार अन्तिम साता दोस्रो पटक अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गमा रहेको अम्कोटको पहिरो तलबाट बुढीगङ्गा नदीले कटान गर्दै गएको र माथिबाट पहिरो बग्न नरोकिएकाले सडक खुलाउन नसकेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएका कारण सो क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रीले सास्ती भोग्दै आएका छन् । माथिबाट पहिरो आउने गरेकाले ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको बुढीगङ्गा नगरपालिका–३ का गोरखबहादुर रौलेले बताएका छन् ।

असार २८ गते अवरुद्ध भएको राजमार्ग तीन साता बितिसक्दा समेत खुल्न सकेको छैन । लगातारको वर्षाका कारण अम्कोटमा पहिरो बग्ने क्रम नरोकिएकाले सडकमा आएको पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

वर्षा रोकिएको अवस्थामा स्काभेटर प्रयोग गरी बाटो खुलाउने कार्य तीव्र रूपमा सञ्चालन गर्ने तयारी भए पनि पानी नरोकिँदा पहिरो हटाउन नसकेको साँफेबगरका इन्जिनियर दमन विष्टले जानकारी दिए ।

राजमार्गमा आएको पहिरो हटाउन असार मसान्तअगावै डोजर तयारी अवस्थामा राखेको भए पनि पानी आउने क्रम नरोकिएकाले सडकको पहिरो हटाउन सकस भएको इन्जिनियर विष्टले बताए ।

तीन सातादेखि अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि पानी नरोकिने भएकाले साउन मसान्तसम्म सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनले मन्त्रालय र विभागसँग वैकल्पिक बाटोका बारेमा अध्ययन गर्ने गरी सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुखको टोलीले सर्वेक्षण गर्ने कुरा भइरहेकाले तत्काल उक्त राजमार्ग खुलाउन सम्भव नभएको प्रजिअ अधिकारीले बताए ।

दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्यो 

साँफे–मार्तडी राजमार्ग अवरुद्ध बनेपछि जिल्लामा दैनिक उपभोग्य सामना र मासुको मूल्य बढेको छ । राजमार्ग अवरुद्ध भएपछि भरिया लगाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता भएपछि दैनिक उपभोग्य सामानको मूल्य बढेको हो ।

यहाँका स्थानीय हाट बजारमा चामल,तेल,दाल लगायत सामग्रीको मुल्य वृद्धि भएको हो । भने जिल्लामा संचालन हुदै आएका कुखुरा मासु पसलमा समेत  मुल्य बढेको छ । गएको बिहीबार मात्र पाँच सय ६० रूपैयामा एक केजी मासु विक्री हुने गरेको भएपनि ६ सय रूपैया केजी काटेको कुखुराको मासुको मुल्य बढेको हो ।

जिल्लामा ग्यासको समेत मुल्य बढेको छ । एक हजार ७५० रूपैयामा पाउने ग्यासको सिलिण्डर अहिले एक हजार ९५० रूपैया पर्ने गरेको छ । बाटो नबनेका कारण भरियाबाट सामान बोकाएर ल्याउनु परेकाले मुल्य बढेको सागर फैन्सी स्टारेमा प्रकाश थापाले बताएका छन् ।