सातवटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै, महामारी नियन्त्रण प्राथमिकतामा

धनगढी, असार १ (ई-रैवार)
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज अर्थमन्त्रीहरूले आ आफ्नो प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्न लागिएका हुन ।
यसअघि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर पारित गरेका छन् । तर कर्णाली र गण्डकी प्रदेशमा भने नीति तथा कार्यक्रम नै पारित भएको छैन । ती प्रदेशमा आजै बजेट सार्वजनिक गर्नुअघि बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी भएको छ ।
प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे, प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ । गण्डकी र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशले नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचारलगायतका विषयलाई प्राथमिकतामा राखेकाले बजेट पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आउनेछ ।
प्रदेश सत्ता समीकरणमा भएको बदलावले नीति तथा कार्यक्रम पारित गरिनसकेका गण्डकी र कर्णालीले पनि आजै नीति तथा कार्यक्रम पारित गरेर अपराह्न ४ बजेसम्म बजेट ल्याउने तयारी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट २९ अर्ब रुपैयाँको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी आव ०७८र७९ का लागि ल्याउन लागेको बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ ।
प्रदेश सरकारले चालु आव २०७७/७८ मा साढे ३३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । मन्त्रालयका अनुसार आव २०७८/७९ को बजेट २८ देखि २९ अर्बका बीचमा आउने छ ।
आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने भएको हो ।





प्रतिकृया दिनुहोस्