बागमती प्रदेश, प्रदेश-१ र प्रदेश-२ सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

काठमाडौं, जेठ २७ (ई-रैवार)
बागमती प्रदेश र प्रदेश नं २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज (बिहीबार) प्रस्तुत गर्दै छन् ।
दिउँसो बस्ने प्रदेश सभा बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशको बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
बागमती सरकारले यसअघि ल्याएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) अर्थात् प्रि–बजेटमाथि १७ जेठ सोमबार प्रदेश सभामा छलफल गरेर बैठक स्थगित गरेको थियो।
बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफलपछि १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ। यता प्रतिपक्षी दलहरू भने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित गर्न नदिने रणनीतिमा लागेका छन्।
त्येस्तै आजै प्रदेश नं २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
प्रदेश २ मा प्रदेश प्रमुख राजेश झा अहिराजले आज दिउँसो २ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । नीति तथा कार्यक्रमको लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएका थिए ।
बुधबार नेपाली काँग्रेस सरकारमा सहभागी भएसँगै बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रम पारित पछि असार १ गते बजेट ल्याउने प्रदेश सरकारको बजेट ल्याउने योजना छ ।
त्येसैगरी प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न निर्देशन दिइएको छ।
सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८ ७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ। कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो । कोरोनाका कारण देखाउँदै प्रदेश सरकारले आर्थिक ऐन संसोधन गदै १५ दिनको प्रि बजेटको समय पाँच दिनमा झारेको थियो ।
१५ दिनको समयसिमा छोट्याएर पाँच दिनमान झारेपछि विपक्षी दलहरु सत्तापक्षसँग रुष्ट बनेका थिए ।





प्रतिकृया दिनुहोस्