जंगलमा लागेको आगो निभाउँदा एकजनाको मृत्यु

डोटी, फागुन १४ (ईं-रैवार)
जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका ७ बयरकोट घर भएका ६५ वर्षीय लक्षुवा भुलको आगो निभाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको जानकारी अनुसार सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते भएका भुललाई उपचारको लागि सुजङ अस्पताल राजपुरमा लगिएको थियो ।
उपचारकै क्रममा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
स्थानीय र प्रहरीको सहयोगमा उनलाई उद्धार गरिएको थियो । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो ।
मृतक भुललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै यहाँका विभिन्न जंगलहरुमा आगलागीसमेत बढेको पाइन्छ ।





प्रतिकृया दिनुहोस्