सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर, सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं, मंसिर २३ (ई-रैवार)
सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो ।
नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् ।
आज एक समारोहका बीच नेपाल सरकारले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको छ । यसअघिको उचाइभन्दा ८६ सेन्टिमिटर बढी हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष ०७५/७६ देखि शुरु गरिएको सगरमाथाको उचाइ मापन प्रक्रिया हालै सम्पन्न भएर मन्त्रीपरिषद्को बैठकले सार्वजनिक गर्ने अनुमति दिएपश्चात् घोषणा गरिएको हो ।
यसपालि नेपाल सरकारले पहिलोपटक आफ्नै लागत र जनशक्तिसमेत खर्चेर सगरमाथाको उचाइ मापन गरेको हो ।
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप नेपाल र चीन दुवै पक्षका सरकारी टोलीहरुको संयोजकत्वमा उचाइ नापिएको छ । दुवै देशले एकै समयमा नयाँ उचाइ घोषणा समेत गरेका छन् ।
नेपालले मापन गरेको उचाइ चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सार्वजनिक गरिएको हो । नापी विभागले आफ्नै जनशक्तिबाट फिल्ड सर्बेबाट प्राप्त तथ्यांक आफ्नै प्रयोगशालामा प्रशोधन गरेर उचाइ पत्ता लगाएको हो । यसअघि सन् १९५४ मा भारतको डिपार्टमेन्ट अफ सर्बेले लिएको उचाइ ९८,८४८ मिटर०लाई नेपालले मान्यता दिएको थियो ।
सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि गएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रवीन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन टोलीमा थिए । त्यस्तै, पिक प्रमोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पा, आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले यस कार्यमा गाइडको काम गरेका थिए ।
कसरी नापियो उचाइ ?
सन् २०१७ को डिसेम्बरमा नेपाल सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय स्तरको कार्यशालामा अमेरिका, जापान, चीन, भारत, न्यूजिल्याण्ड, इटली लगायतका देशहरूको उपस्थिति थियो जसमा सगरमाथाको उचाइ मापन गर्ने प्रविधि र पद्धतिका बारेमा छलफल भएको थियो ।
जस अन्तर्गत दुई प्रकारका प्रविधि स् जिपिएस प्रविधि र ग्लोबल नेभिगेशन स्याटेलाइट सिस्टम (जिएनएसएस) अपनाएर उचाइ मापन गरिएको हो ।
सन् २०१९ मा मापन टोलीका दुईजना नापी विभागका अधिकारीहरू शेर्पा गाइडसँग सगरमाथाको चुचुरोसम्म ग्लोबल नेभिगेशन स्याटलाइट सिस्टम (जीएनएसएस) नामक उपकरण साथमा लिएर पुगेका थिए । चुचुरोमा १ घण्टा १६ मिनेट रहेर उपकरणमार्फत् भूउपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरुत्वाकर्षण, मौसम सम्बन्धि तथ्याङ्कहरु संकलन गरियो ।
त्यस्तै, चुचुरोमा राखिएको उपकरण र सगरमाथालाई मध्य भागमा राखेर चारै दिशातर्फ नियन्त्रण बिन्दूहरुमा राखिएको उपकरणबाट उचाइको तथ्याङ्क संकलन गरिएको थियो । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ लगायत स्थानमा पर्ने करिब ३ सय बिन्दूहरुबाट सर्वेक्षकले सर्वे सम्पन्न गरी तथ्याङ्क संकलन गरेका थिए । सगरमाथा क्षेत्रका विभिन्न स्थानबाट लेभलिङ सर्भे गरिएको थियो ।
यसअघि मापन गर्दा कतिसम्म पुग्यो सगरमाथाको उचाइ ?
सगरमाथाको उचाइ पहिलोपटक १९ औं शताब्दीमा ‘द ग्रेट ट्रिगोनोमेट्रिक सर्वे’ अन्तर्गत ‘ब्रिटिस सर्भे अफ इण्डिया’ले मापन गरेको थियो । त्यसताका ८,८४०.५० मिटर उचाइ सार्वजनिक गरिएपनि त्यसलाई आधिकारिक मानिएन किनकी सो काम असाध्यै पुरानो प्रविधिको प्रयोगबाट सम्पन्न गरिएको थियो ।
त्यसपछि, सन् १९५४ मा ‘सर्भे अफ इण्डिया’ले मापन गर्दा सगरमाथाको उचाइ ८,८४८ मिटर निस्कियो जसलाई हामीले अहिलेसम्म आधिकारिक उचाइ मान्दै आएका थियौं ।
यसका अतिरिक्त पनि विभिन्न राष्ट्रहरुले आआफ्नै तरिकाले धेरैपटक सगरमाथाको उचाइ मापन गरेका छन् । सन् १९७५ मा चीनले मापन गर्दा ८८४८।१३ मिटर उचाइ निकालेको थियो भने सन् २००० मा अमेरिकाले मापन गर्दा ८,८५० मिटर उचाइ रहेको पुष्टि ग¥यो ।
सन् २००५ मा चीनको ‘नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङ’ले मापन गर्दा ८,८४४.४३ मिटर उचाइ भएको पुष्टि गरेको थियो ।
वि सं २०७२ सालको विनाशकारी भूकम्पले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइमा प्रभाव पारेको हुनसक्ने भन्दै पुनः उचाइ मापन गरिनुपर्ने जस्ता प्रस्तावहरु आएका थिए । जसलाई मध्यनजर गर्दै सन् २०१७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेपछि नेपालले पहिलो पटक आफैले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको थियो ।
सगरमाथाको बारेमा केही तथ्यहरु :
नेपालको प्रदेश नं १ को उत्तरपूर्वी भेगस्थित सोलुखुम्बु जिल्लामा रहेको सगरमाथा नेपाल र तिब्बतको सिमानामा पर्दछ ।
शुरूमा ‘पिक ’ नामाकरण गरिएको सगरमाथालाई सन् १८६५ मा सर्वे अफ इण्डियाका तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानस्वरुप उनैको नामबाट माउन्ट एभरेष्ट नामाकरण गरिएको थियो ।
नेपाली नाम ‘सगरमाथा’ राख्ने श्रेय भने इतिहास शिरोमणि बाबुराम आचार्यलाई जान्छ ।
सगरमाथालाई तिब्बती भाषामा छोमोलुङ्मा भनिन्छ जसको अर्थ हो ‘पवित्र आमा’ ।
पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् ।
प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा हुन् ।





प्रतिकृया दिनुहोस्