डोटीको सदरमुकाम सिलगढीको नाचन्थली क्षेत्र सिल

डोटी, असोज २४ (ई-रैवार)
डोटी जिल्लाको सदरमुकाम सिलगढीस्थित नाचन्थली क्षेत्र सिल गरिएको छ । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिइन् । नगरप्रमुख मलासीका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो ।
त्यसैगरी सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।
सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म एक हजार भन्दा बढी सङ्क्रमित फेला परेका छन् ।





प्रतिकृया दिनुहोस्