झुलाघाट नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए

बैतडी, असोज २१ (ई-रैवार)
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् ।
लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापारव्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए ।
“नाका बन्द भएपछि वारिका २५ व्यापारी पारि अड्किएका छन्”,उनले भने, “लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ, एक दुई दिनका लागि भए पनि सीमापारि अड्किएका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिन आग्रह छ ।” आफ्ना समस्याप्रति सरकार गम्भीर नभए आफूहरु अनसन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।
यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय नाका भएकाले पहिला नेपाल सरकारले निर्णय गर्नुपर्ने त्यसपछि दुई देशको सहमतिमा नाका खुल्नेछ ।” नाका खोलिदिन भन्दै सरकारलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
रासस





प्रतिकृया दिनुहोस्