April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुराको भागेश्वर सीमा क्षेत्रमा बीओपी स्थापना

डडेल्धुरा, असोज १२ (ई-रैवार) 

सशस्त्र प्रहरी बलले नेपालको बोर्डर आउट पोष्ट (बीओपी) डडेल्धुरा स्थापना गरेको छ । गृहमन्त्रालयले देशभर विभिन्‍न सीमा क्षेत्रमा बीओपी स्थानका क्रममा डडेल्धुराको भागेश्वर १ रुपालको सेल्टुनामा बीओपी स्थापना गरिएको हो ।

सीमा सुरक्षा र सीमा स्तम्भहरुको संरक्षण र सीमामा हुने आपराधिक गतिविधिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक हरीशंकर बुढाथोकीले बताए ।

राज्यले संगठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा बस्‍ने प्रहरीलाई निर्देशन समेत दिएका छन् । भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुनामा सोमबार बाहिनीपति बुढाथोकी र भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टले संयुक्त रुपमा पोष्ट स्थापनाको उद्घाटन गरेका छन् ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ५ परीगाउँ, परशुराम वडा नं. ३ शीर्षा, वडा नं. ७ साँदनीमा सिमानाकमा समेत पोष्ट स्थापना भइ सकेकोमा सोही अन्तर्गत सोमबार भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुनामा बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सन्तोष भट्टले बताए ।

डडेल्धुरा जिल्लाका विभिन्‍न क्षेत्रमा ५ वटा बीओपी स्थापना गर्ने निर्णय भएको र चारवटा स्थापना गरि सकेको गुल्मपति सन्तोष भट्टले बताए ।