बैतडी अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन, बत्तीका लागि ब्याकअप छैन
बैतडी, आश्विन १ (ई-रैवार)
जिल्ला अस्पताल बैतडीमा बिहीबार पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बिहीबार प्रयोगशाला उद्घाटन गरेका हुन् ।
बैतडी अस्पतालमा बिहीबार पीसीआर प्रयोगशालाको उद्घाटन संगै कोरोना संक्रमणको परीक्षण थालिएको मेडिकल ल्याब टेक्नोलोजिस्ट श्यामराज जोशीले बताएका छन ।

‘केही बेरमै १ सय वटा नमुना रन गरिनेछ,’ जोशीले भने, ‘दैनिक २ सयदेखि ३ सयवटासम्म स्वाब नमुना जाँच गरिनेछ ।’ जिल्लामै पीसीआर मेसिन सञ्चालनमा आएपछि अब कोरोना परीक्षणका लागि डडेल्धुरा र धनगढी स्वाब पठाउन पर्ने अवस्था हट्नेछ । बैतडीसँगै दार्चुलाका नागरिकले पनि यहाँबाट सेवा लिनेछन् ।
पीसीआर प्रयोगशाला निरन्तर राख्न सबैको सहयोग आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बरजंग सिंहले बताए । ‘बत्तीका लागि ब्याकअप छैन, तत्काल सोलार वा जेनेरेटर आवश्यक छ,’ उनले भने, ‘अस्पतालमा जनशक्ति एकदम कम छन् । यसलाई सबैले ध्यान दिएर मेसिन सञ्चालनलाई निरन्तरता दिन जरुरी छ ।’
पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको पहिचानका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्