April 18, 2026, Saturday
२०८३ बैशाख ५

क्यारेबियन प्रिमियर लिग : सन्दीप सम्मिलत जमैका पराजित

काठमाडौं, भदौ २२ (ई-रैवार) 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको हो ।

सोमबार बिहान भएको खेलमा जितका लागि १ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३४ रन बनाउन सक्यो ।

जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४९ रन जोडे । उनले ३६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४९ रनको योगदान दिएका हुन् । जर्मेन ब्ल्याकवुडले २५, निकोलस किर्तोनले २५ र चाडविक वाल्टन १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

जुक्सका जावेल ग्लेन र जाहिर खानले समान तीन–तीन विकेट लिए । त्यस्तै केस्रिक विलियम्सले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो । जुक्सका नाजिबउल्लाह जद्रानले ३५ रन जोडे । त्यस्तै रोस्टन चेश ३२, रहकीम कर्नवाल ३२ र मार्क डियालले १३ रन जोडे ।

जमैकाका लागि सन्दीप लामिछानेले एक विकेट लिए । मुजिब उर रहमानले दुई तथा फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले समान एक एक विकेट लिए । जमैकाले अब सेमिफाइनलमा ट्रिनबेगो नाइट राइडर्ससँग मंगलबार खेल्नेछ । एजेन्सी