March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा इंग्ल्यान्डको रोमाञ्चक जित

 

काठमाडौं, भदौ २० (ई-रैवार)

अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० खेलमा घरेलु टिम इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ । शुक्रबार राति साउथह्याम्टनमा भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन जोड्यो । उसका लागि डविड मलानले ४३ बलमा ६६ रन र ओपनर जोस बटलरले २९ बलमा ४४ रनको योगदान दिए ।

बलिङमा अस्ट्रेलियाका अस्टन अगर, केन रिचार्डसन र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । १ सय ६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको उसले १२ रन मात्र जोड्न सक्यो । मार्कोस स्टोइनिसले १८ बलमा नटआउट २३ रन जोडेका थिए ।

अस्ट्रेलियालाई अन्तिम ६ ओभरमा केवल ३९ रन चाहिएको थियो भने उसको ९ विकेट बाँकी थियो । तर इंग्ल्यान्डका बलरले उत्कृष्ट प्रदर्शन गर्दा अस्ट्रेलिया पराजित भयो ।

त्यसअघि डेभिड वार्नरले ४७ बलमा ५८ रन तथा कप्तान आरोन फिन्चले ३२ बलमा ४६ रनको योगदान दिए । स्टिभ स्मिथ १८ रनमा आउट भए । बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले २–२ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लियो ।