March 9, 2025, Sunday
२५ फाल्गुन २०८१, आईतवार

नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै

 

काठमाडौं, भदौ १८ (ई-रैवार) 

नागरिक लगानी कोषले एकैपटक  साढे  ४ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको जनाएको हो ।

नागरिक लगानी कोषको सूचना अनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको तथा लगानीबाट प्राप्त भएको प्रतिफलको ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

कोषको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा १ वर्षदेखि २ वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागिएको छ । कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । सूचनामा यही भदौ २१ गते दिउँसो २ बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिइएको छ ।

बैंक तथा वित्तीय संस्थामा हाल झण्डै २ अर्ब बराबरको तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपको सात प्रतिशतसम्म व्याज दिने गरेका छन् । बोलकबोलको प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाले कर्मचारी सञ्चय कोष जस्ता निकायको रकम मुद्दतीमा लिने गरेका छन् ।