April 18, 2026, Saturday
२०८३ बैशाख ५

दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

 

दार्चुला,  भदौ १५ (ई-रैवार) 

हिमाली जिल्लामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाले भाद्र १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला र २ जना पुरुषमाटाइफसका बिरामी भेटिएका हुन ।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल आएका उनीहरुको आरडीटी परीक्षण गर्दा संक्रमण देखापरेको बताएका छन ।

जिल्लाको महाकाली नगरपालिकाका १ पुरुष, मालिकार्जुन गाउँपालिकाका २ जना महिला र १ पुरुष तथा व्याँस गाउँपालिकाका १ जनामा पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको सूचना अधिकारी भट्टले बताएका छन । उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ, भने एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बाँकी तीन जनामा रोगका सामान्य लक्षण भएका कारण उनीहरुलाई घर छोडिएको उनले बताए ।

सूचना अधिकारी भट्टले परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने र स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबढी हुनेलगायतका लक्षण देखापर्ने बताए ।

किर्नाको टोकाइबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुपर्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने सूचना अधिकारी भट्टले बताए ।