एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्ने

काठमाडौं, भदौ १४ (ई-रैवार)
कुनैपनी बैंकको एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार परिपत्र जारी गर्दै यो व्यवस्थालाई सधैंको लागि लागू गरेको हो ।
राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गरेको थियो । योसँगै अब देखि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको डेबिट कार्ड प्रयोग गरेर जुनसुकै एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन ।
यसअघि कोरोना संक्रमण बढेको अवस्थामा जुनसुकै एटीएमबाट पैसा निकाल्दा पनि शुल्क लिन नपाइने व्यवस्था थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई स्थायी बनाएको छ । योसँगै अब अन्य बैंकको एटीएम प्रयोग गरेबापत अर्को व्यवस्था नगरेसम्म कहिल्यै शुल्क लाग्ने छैन ।
विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन । यसअघि भने यस्ता कारोबारमा प्रति कारोबार ३० रुपैंया देखि २ सय ५० रुपैंयासम्म लिने गगरिएको थियो । एटीएम मेसिनमा समस्या आउँदा तत्कालै बैंकका प्रतिनिधिलाई सम्पर्क गर्न सक्नेगरी सम्बन्धित व्यक्तिको नाम र मोबाइल नम्बर समेत एटीएम काउन्टरमा राख्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
एटीएम प्रयोग बापत शुल्क लिन नपाउने व्यवस्था गरेसँगै राष्ट्र बैंकले कारोबारको सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यस्तै एकपटकमा २५ हजार र एक दिनमा १ लाखसम्मको सीमा कायम गरिएको छ ।
बैंकबाहेक अरु भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेडकार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन । तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो ।
प्रतिकृया दिनुहोस्