बैतडीमा पहिरोले घर पुरिँदा ४ जना घाइते

बैतडी, भदौ ३ (ई-रैवार)
बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका४ जना घाइते भएका हुन् ।
आज बिहान ६ बजेतिर घरभन्दा करीब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उहाँकी श्रीमति सुन्दरी मडै र उहाँकी छोरीहरु सरस्वती मडै र पार्वती मडै घाइते भएका रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले जानकारी दिउका छन ।
घरभित्र पुरिएका ४ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी सहायक निरीक्षक धामीले बताए । घाइतेहरुको टाउको,छाती लगायतका शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको छ । बर्षातका कारण गाडी समेत नचलेकाले घाइतेहरुलाई स्थानीयहरुले स्ट्रेचरमा बोकेर अस्पताल लगिएको छ ।
घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिनुभयो । पहिरोका कारण घर भत्किएपछि १० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका दिनेश मडै र रामबहादुर मडैको घर पनि पहिरोको जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । घरभित्रका सबै सामान सहित दिनेश मडैको परिवारलाई अजुर्न मडै र रामबहादुर मडैको परिवारलाई मीनबहादुर मडैको घरमा स्थानान्तरण गरिएको प्रहरी सहायक निरीक्षक धामीले बताए ।





प्रतिकृया दिनुहोस्