April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी काँग्रेसद्वारा राहत रकम हस्तान्तरण

एकराज बडु

डोटी साउन २७(ई-रैवार)
आदर्श गाउँपालिका–१ बाँझककानीमा घर भत्किएर चारजना मृत्यु भएका परिवारलाई नेपाली कांग्रेस डोटीले राहत रकम उपलब्ध गराएको छ ।
नेपाली कांग्रेस डोटीले स्थापना गरेको आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरिया खर्च बाफत १० हजार गरी २० हजार रकम हस्तान्तरण गरेको हो । नेपाल दलित संघका अध्यक्ष तथा महाधिबेसन प्रतिनिधि लालबहादुर बिकले पीडित परिवारकी पाना लुहारलाई उपचार गराई रहेको शैलेश्वरी अस्पतालमै गएर नगद हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति विजय खड्का, जिल्ला कार्यसमिति सदस्य जित खड्का, पूर्व क्षेत्रीय सभापति बमबहादुर कठायत, नेता भरत कठायत लगायतका नेताहरुको सहभागिता रहेको थियो । सहभागी नेताहरुले रकम हस्तान्तरण संगै घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
डोटी कांग्रेसले मंगलबार बिहानै एक शोक वक्तव्य जारी गरी पीडित परिवारलाई राहतको घोषणा गरेको थियो ।
घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कांग्रेस डोटीले पीडित परिवारको उपचार तथा राहतको ब्यवस्था गर्न तीन तहकै सरकार र सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
यस्तै आदर्श गाउँपालिका वडा नं। १ बाँजककानी काँग्रेसले पनि पीडित परिवारलाई नगद ९ हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेको छ ।
आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको थियो । सुतिरहेका अवस्थामा भित्र सुतिरहेका २६ वर्षिया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते छन् । उनीहरुरुको दिपायलमा उपचार भईरहेको छ ।