May 3, 2026, Sunday
२०८३ बैशाख २०

अर्कै समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु

 

जनकपुर, साउन २३ (ई-रैवार)

सुत्केरी महिलालाई अर्कै समूहको रगत चढाउँदा मृत्यु भएको छ । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो ।

महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् । महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो ।

रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा ती महिलाको मृत्यु भएको हो ।

‘धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको बताएका छन । गम्भीर छानबिन गरी दोषी देखिनेलाई कारवाही हुने प्रजिअ भट्टराईले बताए ।