लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

कञ्चनपुर साउन २३(ई-रैवार)
कञ्चनपुरको एक विद्यालय परिसरबाट प्रहरीले युवतीसहित छजना पक्राउ गरेको छ । उनीहरुसंग लागुपदार्थ ब्राउन सुगरसमेत फेला परेको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका-१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय महेश देउवा, २१ बर्षीय सुदर्शन भारती, २२ बर्षीय लोकेन्द्र सुनाहा, २४ बर्षीय प्रेम भट्ट, २२ बर्षीय पदमराज भट्ट र १९ बर्षीया युवती विपना रावल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक दशमलब ८५ ग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।
विद्यालयको पर्खाल नाघेर उनीहरुले विद्यालयभित्र लागूपदार्थ सेवन गरिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। रावल आफूसँग रहेका ४ थान लाइटर, चुरोटको बट्टा र प्लास्टिकमा रहेको ब्राउनसुगर भुईमा फालेर भागेकी थिइन्।
उनलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए। पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले बताए।





प्रतिकृया दिनुहोस्