म, मेरो समाज र विदेशीनुको पिडाबोध !

–शेर साउँद
धेरै पहिल्यैदेखिको एउटा सपना थियो ! –सुदूरपश्चिममा हुने बिकृती बिसंगतीहरु र गरिब, निमुखाहरुको आवाज देउडा गीतमार्फत बाहिर ल्याउने, साङगीतिक क्षेत्रमा स्थापित गर्ने ।
यो यात्रा त्यति सजिलो पनि कहाँ छ र ? जीवनमा यति बाधा अड्चनहरु आईदिन्छन् । जसको व्यवस्थापनमै दिनहरु घर्कीरहन्छन् । दिनहरुको घर्काईसंगै सपनाहरु कता–कता मधुरा हुँदैजान्छन् ।
झण्डै भयो पनि त्यस्तै । रोजीरोटीको समस्या भएपछि मलाई भारत जानुपर्ने बाध्यता आईलाग्यो । नेपालमा गरेर खानसक्ने स्थिती बनेन् । म बाध्य भए !
त्यसअघि म सम्झन्थे–नेपालीहरु विदेश गएर किन श्रम वेच्छन् ? नेपालमै किन केही गर्न सक्दैनन् ?
जव आफैलाई त्यो अवस्था आईलाग्यो । मैले बल्ल बुझेँ । ती असंख्य नेपाली युवाहरुका पीडा, जो विदेश नगई धरै छैन् ! भारत नगई घर चल्दैन् !
त्यसपछि म सन् २०११ मा भारतको गुजरात राज्यको अहमदाबाद भन्ने शहरमा रोजगारीका लागि पुगे । जहाँ एउटा क्याफेमा म्यानेजरको जिम्मेवारीका जागिर पाए । अनेकौ सुख–दुखहरु संगाल्दै, मनोभावहरुलाई सान्त्वना दिदै निरन्तर आफ्नो बाध्यताको कर्ममा खटिईरहे । जसक्रममा यो मनमा अनेकौ तितामिठा भावहरुको संगालो भरिएका छन् । जसको कुनै निश्चित सीमा छैन् ।
म म्यानेजरको भूमिकामा त्यहाँ कार्यरत रहदा १८ जनाको टीम सम्हालिरहेको थिए । व्यवस्थापन पक्षसंगको समन्वय राम्रै ढंगबाट चलाउथे । त्यासो गरिरहदा आफैलाई लाग्थ्यो– एक्लै यसरी रातदिन नभनी, तमाम चुनौतीहरु सम्हाल्दै, कुशलतापूर्वक काम गर्नसक्ने म आफ्नै ठाउँमा किन केही गर्न सक्दिन ? किन आफ्नै समाज र देशका लागि किन केही गर्न सक्दिन ?
यो भाव मनमा उठ्दा म विरक्तिन्थे । म झल्झली देख्थे ती मुहार जो बाल्यकालदेखी मेरै वरीपरी थिए । मेरै आफन्तहरु, मेरा नातेदारहरु, मैले चिन्नेजान्ने समुदायका पछाडी पारिएका, दवाईएका, चेपीएका पात्रहरु जसले पीडैपीडामा जीवन गुजारिरहे । ती पात्रहरुको शीरमा टेकेर शासन गरिरहेका शासकहरु जो निर्मम बनिरहे । यी सबै भावभंगीहरुको आगमनले मन निकै हुडल्लीन्थो । म सबैथोक छाडेर फर्कने आँट जुटाउथे ।
तर परिस्थिती मेरो अनुकुलको कहाँ थियो र ? मलाई त्यतिसाह्रो आँट जुटाउने सामथ्र्य कहाँ दिन्थ्यो र ?
संगै मनमा अर्को अवरोह खडा हुन्थ्यो, समुदायको सोच ।
हाम्रो समुदाय भनेजस्तै, खोजेजस्तै सहजपनि कहाँ छ र ? ईमान्दारिता, बफादारिता यहा विक्ने अवस्थापनि नभएको तितो अनुभव पहिले नै भोगिसकेको थिए । समाज परिवर्तनको चिराक बनेर उदाउन चाहने झिल्काहरु सहजै निभाउन सक्ने हैसियत राख्छ यो समाजले । जसलाई सोझासाझा जनताहरु बुझ्न पनि बर्षौ लाग्छ । जब बुझ्छन् तब समय निकै ढिलो भईसकेको हुन्छ ।
भारत बस्ने क्रममा पनि त्यहाँ रहेका नेपालीहरुको दुर्दशाले कम्ति मन पोल्दैनथ्यो । मसंग शिक्षा थियो, सोही अनुसारको काम पाएको थिए । औपचारिक शिक्षा नपाएका तमाम दाजभाईको अवस्था त्यहाँ पनि निकै दर्दनाक थियो । छुट्टीको दिन जब कहिँकतै होटल र रेस्टोरेन्टतिर बुझ्न जान्थे, अत्याधिक पीडा महशुस हुन्थ्यो । एकातिर ठुलो युवा श्रम त्यहाँ सस्तोमा खर्च भईरहेको थियो । जसले नेपालको अर्थतन्त्र माथि नउठिरहेको अवस्था, अर्कातिर त्यहाँ रहेका युवाहरुले बोकिरहेको काम र अपमानको भारीले मन थिलथिलो हुन्थ्यो । तर सबैको बाध्यता घर परिवार चलाउनु नै थियो ।
यी यावत कारण म आफ्ना संवेदनाहरु मनभित्रै दफन गर्दै उतै पसिना बगाउन विबश भईरहे । त्यहि क्रममा २०१५ सालमा त्यहाँ बस्दाबस्दै आईटीको काम सिकी सकेको अबस्था थियो । त्यसपछि मैले देव ईन्फरमेशन टेक्नोलोजी भन्ने कम्पनीमा आईटी म्यानेजरमा काम गर्न शुरु गरे । जहाँ पछिल्लोसमयसम्म म कार्यरत थिए ।
पछिल्लो समय विश्वव्यापी फैलिएको नोवेल कोरोनाभाईरस (कोभिड–१९)का कारण लामो बिदा हुनपुग्यो । यही अवस्थामा आफ्नो माटोको मायाले मलाई घर फर्कन लोभ्यायो । अनेकौ संवेदनाहरुको भण्डार बोकेर म यतिबेला आफ्नै माटोमा फर्किएको छु । यहाँ आउदा मलाई फेरी भारत फर्कन मन लागेको छैन् । म यही केही गर्ने लालसा बोकेर आएको छु ।
म मात्रै होईन, राज्यले कोरोनाले बेरोजगार बनेर घर फिरेका सबै युवाहरुलाई देशभित्रै रोक्नसक्नुपर्छ । तबमात्र शुरु हुन्छ नेपालमा विकास र समृद्धिको अभिायान्् ।
राज्यले युवाहरुका लागि रोजगारी सिर्जना गर्ने, स्वरोजगारलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम अगाडी बढाउन पर्छ । यसका लागि स्थानीय र प्रदेश सरकारको अहम काम, कर्तव्य र अधिकार हुन आउँछ । जसमा योजना, सोच र भिजन भएका युवाहरुले नीजिक्षेत्रबाट पनि अभियानको थालनी गर्नसक्छन् । म एक त्यही अभियानको थालनीको पक्ष÷योजनामा छु ।
यसमा विभिन्न किसिमका सीपमूलक कार्यक्रम बैङ्कसंग को कोडिनेटमा सञ्चालन गरियोस । सीप अनुसारको काम र सोही बमोजिमको लगानीको लागि पर्याप्त भुमिका निर्वाह गरि स्थानीय सरकार र प्रदेश सरकारले लगानी गर्ने श्रोत पहिचान गरि लगानी गरियोस । यस्तो कार्य रेखदेख गर्ने छुट्टै समिति र संजाल बनोस,आफनै गाउँ ठाउँको युवाबाट पयाप्त लाभ लिई देशको अर्थतन्त्र बलियो बनाउने तिर सरकार र सबै जनप्रतिनिधिहरुको ध्यानाकर्षण होस ।
यसका लागि विदेशीहरुको दासत्वबाट नागरिकलाई उन्मुक्ती दिन सकारात्मक विचार सहितको धारणा र नीति बन्नुपर्छ । निस्वार्थी भावनाका असल व्यक्तीहरुको नेतृत्व राज्यमा हुुनुपर्छ । हरेक युवाका जनगुनासो कान खोलेर सुन्ने यूवा नेतृत्व, राम्रो कामको लागि अन द स्पोट निर्णय गर्नसक्ने, विचारशिल, उर्जावान, नेतृत्वको यतिबेला खाँचो छ । तब अभियानले सार्थकता पाउछन् ।
अब पैसाको खोल ओडेर र ओडायर राजनीती गर्नेहरुलाई सामुहिक बहिष्कार गरिनु पर्छ । आजसम्म यो देश र यो ठाउँलाई उन्नती र प्रगतीको मार्गमा अघि बढ्न नदिन यिनै लोभी,लालची र पदको लागि मरिहत्ते गर्ने भ्रष्टाचारी र दलालहरुकै हात रह्यो । अब युवा पिढीले सहि र निर्णायक बन्ने बेला भएको छ । हामीले देशको तिनवटै तहमा राम्रो नेतृत्व दिलाउन पनि एकजुट भई कम्तिमा सहि मान्छेलाई रोज्ने दिन आएको छ ।
यहि हाम्रो डोटीलाई हेर्दा र अहिलेको राजनीती अवस्थालाई हेर्दा पनि यो कुरा स्पष्ट छ । यहाँ युवाहरुका सहि आवाज दबाउन खोजिए, नेतृत्व तहमा जान दिईएन, सोझासिधा जनतालाई पैसामा किने र हामी बेचियौ पनि ।
तर अब भने हरेक आजको सचेत युवाले यि कुराहरु बुझ्न जरुरी छ । यि लाजमर्दो राजनीती गर्नेहरुलाई सदासदाका लागि विश्राम दिने अबस्था पनि यहि हो । तसर्थ युवाविच आपसि बिचार र सहमती हुनुपर्छ ।
(पछिल्लो समयमा भारतबाट फर्किएका साउँद दिपायल सिलगढी नगरपालिका–९ कलेनाका स्थायी बासिन्दा हुन् । उनी देउडा गायक समेत हुन् । )





प्रतिकृया दिनुहोस्