लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा

घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ ।
-राजेन्द्र भट्ट
फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट
महेन्द्रनगर– विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस(कोभिड–१९)को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका सबैजसो गतिबिधीहरु ठप्प रहे । तर, यहि मौका छोपेर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने तस्करहरु झन सल्बलाए ।
लकडाउनकै समयमा शुक्लाफाँटा अवैध क्रियाकलापको अखाडा बन्यो । यस अवधीमा निकुञ्जसंग जोडिएको मध्यवर्ती क्षेत्रबाट अनाधिकृत रुपमा प्रवेश गरी अवान्छित क्रियाकलाप गर्नेको संख्या ह्वात्तै बढ्यो ।

जसका राष्ट्रिय निकुञ्जको तथ्याङ्कले पनि पुष्टि गर्छ । घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ ।
निकुञ्जमा घाँस दाउरा, काठ चोरी लगायतका गतिविधिमा अघिल्लो वर्ष दुईहजार सात सय ४५ जना पक्राउ परेका थिए । यसपाली चार महिनाको लकडाउनका बेला मात्रै तीन हजार सात सय जना पक्राउ परे । यो अघिल्लो तथ्याङ्कको तुलनामा नौ सय ५५ बढी हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले अघिल्लो आर्थिक बर्षको चैतदेखि असारसम्मको तुलनामा यस पटक अवान्छित गतिविधि बढी भएको बताए । उनले भने, ‘तथ्याकंगत रुपमा तुलना गर्दा निकुञ्जभित्र अनाधिकृत क्रियाकलाप बढेको देखिन्छ ।’
लकडाउनमा कामका सिलसिलामा घरबाहिर भएका पनि फर्किएको र तीनै व्यक्तीहरु बढी चोरीतस्करीमा लागेको उनले बताए । ‘दैनिक आफ्नो कामकाजमा व्यस्त हुने पनि घरमैं बसेको अवस्था हो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘बेरोजगारीको अवस्था पनि सृजना भयो । खाली घरमा बस्नु भन्दा उनिहरुलाई यस्ता गलत क्रियाकलाप गर्न उस्कायो ।’
चोरी तस्करी रोक्न गस्ती
निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्याल लकडाउनलाई मध्यनजर गरी चोरीशिकारी लगायतका गलत क्रियाकलाप रोकथाम गर्न गस्ती परिचालन गरिएको बताए । उनी भन्छन्, ‘नियमित भन्दा थप गस्ती परिचालन गरिएको हो । जसको उदाहरण यस अवधिमा पक्राउ परेकाहरुको संख्याले देखाउँछ ।’ निकुञ्जका कर्मचारीसंगै सुरक्षर्थ तैनाथ नेपाली सेनाको देवि दल गणले यस दौरान रोकथाम गर्न नियमित गस्ती गरेको थियो ।

लकडाउनमा यतिको संख्यामा पक्राउ परे भने लुकिछिपि त्यस्ता क्रियाकलाप गर्ने पनि पक्कै हुनेमा दुई मत छैन् । तसर्थ लकडाउनमा निकुञ्ज अखाडा नै बनेको स्पष्ट हुन्छ ।
राजस्व संकलनमा कमी
लकडाउनको असर निकुञ्जको पर्यटकबाट हुने राजस्व संकलनमा पनि प¥यो । अघिल्लो बर्ष चार महिनाको अवधिमा चार हजार ८० जना भित्रिएका थिए । यसपालि सोहि अवधिमा लकडाउनले गर्दा एक जना पनि निकुञ्ज प्रवेश गरेन । ‘पर्यटक नभित्रिनु लकडाउनले गर्दा स्वभाविक हो । तर, यसले निकुञ्जमा हुने आम्दानीमा ठुलो असर पु¥याएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले भने । गत बर्ष यस अवधिमा पर्यटकबाट रोयल्टी बाफत तीन लाख ४१ हजार चार महिनाको अवधिमा संकलन भएको थियो ।
पर्यटन व्यवसायीलाई मार
यस अवधिमा पर्यटन व्यवसायीले पनि ठुलो नोक्सानी व्यहोर्नु परेको उनिहरु बताउँछन् । होम स्टे पनि सुनसान रहे । शुक्लाफाँटालाई लक्षित गरी खुलेको रानाथारु होम–स्टेमा त्यसको नराम्रो असर परेको सचिव चेतराम राना बताउँछन् । ‘केहिको आयआर्जनको यहि माध्यम थियो । तर, लकडाउनले त्यसमा हानी ग–यो,’ सचिव रानाले भने ।
वि.सं. २०२६ सालमा शिकार आरक्षका रुपमा संरक्षण गरिएको यो निकुञ्जको एकसय ५५ वर्ग किलोमिटर क्षेत्रफललाई वि.सं. २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो । त्यसको चार बर्षपछि वि.सं २०३६ सालमा आरक्षको पूर्वतर्फ एकसय ५० वर्ग किलोमिटर क्षेत्रफल विस्तार गरि यसको कुल क्षेत्रफल तीन सय पाँच वर्ग किलोमिटर पु¥याईएको हो ।
पूर्वमा स्याली नदि, पश्चिममा महाकाली नदी, उत्तरमा चुरे पहाडसंगै डडेल्धुरा जिल्लासंग जोडिएको शुक्लाफाँटा दक्षिणमा सीमावर्ती देश भारतको दुधुवा राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ । यसको हेडक्वाटर सदरमुकाम महेन्द्रनगरदेखि पाँच किलोमिटर पश्चिम दक्षिण मझगाँउमा रहेको छ ।
क्षेत्रफलका आधारमा थोरै क्षेत्रफलमा धेरै पाटे बाघ । विश्वकै दुर्लभ बाह्रसिंगाको ठुलो झुण्ड । स्थानान्तरणपछि फष्टाउँदै एक सिंङ्गे गैंडा र अति संकटापन्न कृष्णसार । मौषमी हात्तीको लस्कर यसको प्रमुख पहिचान हो ।

निकुञ्ज भित्र बेलाबखत हुने अनाधिकृत क्रियाकलापले यहाँ बासस्थान गरी बसेका वन्यजन्तुलाई असर पर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालको भनाई छ । तर वन्यजन्तु र स्थानियबीचको संघर्ष चलिआएको छ ।
जैविक विविधताको संरक्षण र चुनौती
सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अथाह जैविक विविधताले भरिपूर्ण छ । यसमा दुई मत छैन् । यसका वाबजुद शुक्लाफाँटा सामू संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका चुनौती छन् ।

बढ्दो जनसंख्याको चाप, बसाईसराई, गरीबि, जनचेतनाको कमि, बेरोजगारी, राजनीतिक अस्थितरता लगायतका कारणले संरक्षित क्षेत्र र जैविक विविधतामा प्रत्यक्ष असर पर्ने गरेको छ । शुक्लाफाँटाका सवालमा पनि यी कुरा लागू हुन्छन । वि.सं. २०३६ सालमा यसको विस्तारसंगै सुरु भएको आरक्ष विस्थापितको समस्या शुक्लाफाँटाको प्रमुख समस्या रहेको छ । तीन दशक बढी बितिसक्दासम्म विस्थापित समस्या समाधान नहुँदा यसले आरक्ष संरक्षण र सम्वद्र्धनमा समस्या उत्पन्न गरेको छ ।
त्यस्तै भूमिहिन, सुकुम्बासी, मुक्त कमैया, बाढी पीडित लगायतका नाममा बेला बखत शुक्लाफाँटाले अतिक्रमण र क्षती व्यहोर्नु परेको छ । मानिसको निकुञ्जप्रति बढ्दो निर्भरताले नै जैविक विविधतामा असर पारेको छ । चोरी शिकारी र अवैध काठ ओसारपसारसंगै अनाधिकार चरिचरनले शुक्लाफाँटाको जैविक विविधतामा असर पु-याएको छ ।





प्रतिकृया दिनुहोस्