April 18, 2026, Saturday
२०८३ बैशाख ५

क्वारेन्टीनमा बलात्कार घटनाको छानविन गर्न प्रदेश सांसद बमद्वारा संसदीय समितिको माग

धनगढी असार १(ई-रैवार)

सुदूरपश्चिम प्रदेश सभाकी सदस्य नन्दा बमले क्वारेन्टिनमै महिलामाथि बलात्कारको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् ।

सुदररपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको १५ औं वैठकमा प्रदेश सभा सदस्य बमले यस्तो माग गरेकी हुन् । उनले यस्तो आरोप लागेकालाई कडा कारवाही गर्न माग समेत गरिन् ।

घटनाको वारेमा सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सभा बमले न्युनतम मापदण्ड नपुगेका क्वारेन्टाईनमा यसरी महिला राख्नु व्यबस्थापनको ठुलो कमजोरी भएको समेत उनको भनाई छ । उनले पिडकलाई कार्वाही गरी पिडितलाई न्याय दिन समेत अनुरोध गरिन् ।
त्यसैगरी प्रदेश सदस्य पुर्ण जोशीले पनि लम्की घटनाको प्रदेश सरकारलाई ध्यानकर्षण गराईकी हुन् । उनले बझाङ, डोटी जिल्लामा पनि यस्ता घटना भएको कुरा सार्बजनिक भईरहेकोले महिलालाई होमक्वारेन्टाईनमा राख्न समेत अनुरोध गरिन् ।

त्यसैगरी लम्की क्षेत्रबाटनै निर्वाचित भएका प्रदेश सदस्य रतन थापाले लम्कीमा बलात्कारको घटना प्रति दुख व्यक्त व्यक्त गरे । उनले वडा कार्यालयमा भएको आक्रमण तथा तोडफोडमा संलग्न भएकालाई पनि कानुनी दायरामा ल्याउन माग गरे ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिलामाथि शनिवार राति बलात्कार गरेको आरोपमा तीन जना पक्राउ भईसकेका छन् ।

क्वारेन्टिनमै खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगी पक्राउ परेका हुन् । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रदर्शन गरिरहेका छन् ।