युगकै खल्लो विसु

डोटी चैत्र ३०(ई-रैवार)
‘विसु’ र ‘ओल्के’ सुदूरपश्चिमका दुई मौलिक पर्व हुन् । विसु वैशाख १ गते मनाईन्छ भने ओल्के भदौ १ गते ।
यी दुवै पर्वका सन्दर्भमा यसक्षेत्रमा एक किम्बदन्ती छ–‘मरुला भनेर विसु खानु, बाँचे भनेर ओल्के !’
परापूर्व कालमा वर्खायामलाई रोगव्याधी, महामारी, बाढीपहिरो र प्रकोपको याम भनेर बुझिन्थ्यो । त्यो समयमा जतिबेला पनि मरिन्छ, त्यसैले वर्खायाम शुरुहुने वैशाख १ गते परिवार छरछिमेक सबै मिलेर विसु पर्व मनाउने र त्यो समय घर्किएको र बाँचिएको खुशीमा भदौ १ गते ओल्के मनाउने प्रचलन वसेको जानकारहरु कथन गर्छन् ।
काल फेरियो । पहिलेझैँ बर्खायाममा आउने समस्याहरु आउन कम भए । तर सुदूरपश्चिमेलीहरुले यी दुवै पर्वप्रतिको अपनत्व घटाएनन् । पहिलेझैँ मनाईरहे । घरभन्दा टाढा भएकाहरु पनि घर आईरहे । परिवार, छरछिमेक एकठाउँमा भएर रमाउदै यी पर्वको मौलिकता जोगाईरहे ।
यस्तोमा यो वर्ष पनि विसु आएको छ । तर विसुले दिने रौनक भने आएको छैन् । विश्वव्यापी फैलिएको नोवेल कोरोनाभाईरस(कोभिड–१९)को महामारीको डरमा नेपाली समाजपनि व्याप्त छ । सरकारले लकडाउन गरिरहेको छ । ‘न विसुको अनुभव छ, न नयाँवर्षको !,’ दिपायलका समाजसेवी प्रेमबहादुर शाह भन्छन्,‘कोरोनाको चपेटामा यसवर्ष विसुपनि गएको छ ।’
विसुसंगको पुरानो कथन अहिले चरितार्थ बनेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एबं पुजारी प्रेमशंकर भट्ट बताउछन् । उनी भन्छन्, ‘मरिन्छ‘की भनेर उहिले विसु मनाईन्थ्यो । अहिले सत्यमा सबै समुदायलाई मर्ने डरले जगडेको छ ।’
जानकारहरुका अनुसार मरिन्छ’की भनेर मनाईने विसु पनि परापूर्व कालदेखी नै धुमधामसंग मनाउने प्रचलन छ । त्यसले विसुको रौनकता सबैका लागि प्रिय हुन्थ्यो । त्योबेलादेखी नै विसुमा मिठोमसिनो खानपान, ठुलाबडाको आशिर्वाद, विभिन्न धार्मिक कार्यक्रम तथा पुजाआजा हुन्थे । सिस्नोपानी छ्यापेर रमाईलो गर्ने, बाघ खेल खेल्ने, लठ्ठी पुजेर रमाईलो गर्ने, लोक देउडा खेल्ने लगायतका ठाउँ अनुसार आ–आफ्नै मौलिक किसिमबाट विसु मनाईन्छ ।
यसपटक कोभिड–१९को संक्रमणको डरले ती सबै कार्यहरु बर्जित छन् । स्थानीय प्रशासन र स्थानीय तहहरुले पनि यस्ता कार्यहरुमा रोक लगाएको छ । जसले यसपटकको विसु निकै खल्लो भएको प्रतिक्रिया छ । ‘यो लगभग शताब्दीकै खल्लो विसु बनेको छ,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तीर्थराज जोशी भन्छन्,‘मेरो जानकारीमा यस्तो विसु कहिल्यै देखेको छैन् ।’ यद्यपी सबैले जोखिमको समयमा संयम हुनुपर्ने उनले बताए ।
धार्मिक मान्यता अनुसार ज्योतिषशास्त्रमा चन्द्रमानको हिसाबले चैत्रशुक्ल प्रतिप्रदालाई नव वर्ष आरम्भ भएको दिन मानिएको छ । यस दिन सुर्य विसुवत् रेखामा जाने भएकाले सुदूरपश्चिममा विसु संक्रान्ती भन्ने चलन छ । बिसुु संक्रान्तिका दिन बिस गाग्री पानीले वा नदिमा गइ बिस पटक डुवुल्की मारेमा रोगव्याधि हट्ने विश्वास लिइन्छ ।
यसै पर्वका अवसरमा सिस्नो चिलाउनाले वितेको वर्षको पाप नष्ट हुनुका साथै हाडजोर्नीको रोग, बाथ, दाद लगायतका रोगहरु पनि निको हुने जनविश्वास रहिआएको छ । यसवाहेक मानव जनेनद्रीयहरु सक्रिय भएपछि नयाँ सोच र नयाँ काम गर्ने जाँगर बढ्ने मान्यता रहेको छ ।





प्रतिकृया दिनुहोस्