सरकार, हामी के सौताको छोरा हौँ ?

भारतका सबैजसो सहरमा रोजीरोटीको खोजीमा आएका हामी नेपालीहरुको संयमताको बाँध टुट्ने अवस्था आउन लागेको छ । दिनहुँ काम÷मजदुरी गरेर हातमुख जोड्ने र बचेँखुचेँको पैसा जम्मा गरेर घर पठाउने अवस्थामा रहेका हामी नेपालीहरुका लागि महिनौँ चल्ने ‘लकडाउन’ र पराई देशको बास धान्न सकिने अवस्था छैन् ।
तेस्रो मुलूकहरुमा रहेका प्रवासीहरुलाई त्यहाँका देशका सरकारहरुले सहयोग गरेको छन् । उनीहरुको दैनिक जीविका सरकारले नै धान्ने र त्यसका लागि स्वयम् सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले त्यहाँका सरकार प्रमुखसंग कुरा गरेको खबर हामीले सुन्ने गरेका छौ । उहाँहरुलाई त्यहाँका सरकारले नहेरे पनि कमाईको पैसाले चारपाँच महिना सजिलै गुजारा चलाउनसक्नुहुन्छ ।
तर भारतमा रहेका हामी नेपाली, जो एकाध रकम कमाएर जोहो चलाउछौँ । त्यसबाट बचाएर बालबच्चा र परिवारका लागि घर पठाउछौँ । सडक, घरका बाल्कोनी, छतहरुमा सुतेर दिन काट्छौ । हामी त भोँकभोकै मर्नुपर्ने अवस्था आउदैछ । हामीलाई विश्वलाई त्राहिमाम पारेको कोभिड–१९ ले होईन, भोकमरीले मार्नेछ । त्यो पनि पराई देशमा, आफ्नै देशले आफ्नो सरहदमा पस्नै नदिएको अवस्थामा ! यसअवस्थामा हामीले आफुलाई आफ्नै देशले तिरस्कार गरेको अनुभूति गरेका छौ ।
भारतमा रहेको हामी नेपालीलाई भारतस्थित नेपाली राजदुतावासले पनि कुनै वास्ता गरेको छैन् । त्यो हामी नेपालीका लागि हो÷होईन, आम नेपाली जो भारतमा छन् त्यसको जीउधनको रक्षा त्यसको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन । हामीलाई थाहा छैन् । त्यसले त आम नेपालीको साँटो कुनै अमुक राजनीतिक पार्टीका आसेपासे प्रवासी भातृसंगठनको मात्र चिन्ता गरेको छ । उसले आम नेपालीको अभिभावकत्व निभाउनुपर्ने भूमिकाबाट च्यूत भएको हामीलाई महशुस हुन्छ ।
हामीलाई भारतसंग धेरै ठुलो आशा पनि छैन् । आफ्नै देशमा रोजीरोटीको ग्यारेन्टी नभएको अवस्थामा शरण दिएको छ । सानै भएपनि रोजीरोटीको ग्यारेन्टी गरेको छ । तर, आफ्नै देश, आफ्नो नेपाल सरकार जहाँ हामीले मत दियाँै, कर दियौँ, जसको आर्थिक अवस्थाको मजबुतीका लागि प्रवासमा पसिना बगाएर रेमिट्यान्स पठायौँ उसैले कठिन घडीमा उपेक्षा गरिरहेको छ । अव यस्तो अवस्थामा हामी कस्को सहारामा बाँच्ने ?
म एउटा सामाजिक संगठनको अभियन्ता पनि हुँ । यो भारतमा नोकरी गर्दागर्दै बीसबर्ष भयो । यो अवधीमा धेरै सहयोग पनि गरियो । सन् २०१७ मा हामीले प्रवासीहरुको समस्यालाई सामाधान गर्न सामाजिक संस्थाको रुपमा ‘सुदूरपश्चिमेली नेपाली समाज भारत’को स्थापना गरेपछि हामीले प्रवासीहरुका हजारौं समस्या सामाधान ग¥यौ करिब तीस लाख भारतिय रुपैयाँ सहयोग ग¥यौ ।
अहिले पनि भारतमा खाना नपाएका नेपाली दाजुभाईलाई रासन सहयोग गरिरहेका छौ । सहयोगी संस्था भएकाल हामीसँग सहयोग माग्ने दैनिक सयौं नेपाली दाजुभाईहरु आईरहेका छन् । हामीले सक्दो गरिरहेका छौँ पनि । यसक्रममा हाम्रो अवस्था पनि अव नाजुक भईसकेको छ । हामीले अब आउने दिनमा आम नेपाली जो भारतमा लकडाउनमा थुनिएका छौँ, निकै कठिनाईँमा जुँध्नुपर्ने दिन आईरहेको देखिरहेका छौ ।
हामीले भारतमा खाना बस्नको समस्या भएका झन्डै चारसय नेपालीहरुको डाटा संकलन गरी नेपाली राजदूतलाई पठाएको सातादिन बित्न लाग्यो । तर न प्रतिक्रिया आएको छ, न अभावको दलदलमा रहेका नेपाली दाजुभाईँहरुले राहत पाएका छौ ।
आफ्नै देशका प्रदेश र संघ सरकारले पनि सहानुभूति जनाउनेसम्मको कदम नउठाउदा, उल्टो लकडाउनको मारमा सीमामा मर्न बाँध्य बनाएको हामीलाई अनुभूति भएको छ । जसले भारतमा रहेका करिब ७० लाखको हाराहारीमा रहेका नेपालीहरुको मन दुखेको छ ।
तेस्रो मुलूक गएका नेपाली नागरिकलाई विमान चार्टर गरिन्छ । ल्याएर सुविधासम्पन्न क्वारेन्टाईनमा राखिन्छ । पोषिलो खाना, आरामदायी बास, खेलकुद र मनोरञ्जनको व्यवस्था, चिकित्सक र सुरक्षाकर्मीको पहरा ! तर हामी भारतमा रहेका र भारतबाट नेपाल पसेका नेपालीहरुलाई किन उपेक्षा ? हामी के सौताको छोरा हौँ ? सीमामा नाराबाजी गर्न बाध्य भएका, लुकिचोरी नेपाल पस्न बाध्य भएका नेपाली दाजुभाईहरुलाई क्वारेन्टाईनका नाममा भेँडाबाख्राझैँ खोरमा थुनेको पनि हामी देखिरहेका छौ । त्यसले झन् हाम्रो मन दुखेको छ ।
यद्यपी हामीले बुझेका छौ । हामी आउदा हाम्रो देशमा, हाम्रो माटो, हाम्रो समाजमा संक्रमण लैजानसक्छौं । यसबाट साबधान हुन हामी कैयौ नेपाली क्वारेन्टाईनमा बसेरअघि बढ्न चाहन्छौ । कैयौँ यही भारतमै बसेर जोखिमको समय कटाउन चाहन्छौं । यसो अवस्थाबाट पार पाउन के दुई छाक रोटी माग्ने अधिकार भारतमा रहेका नेपालीहरुसंग छैन् ?
र अन्तमा पनि प्रवासमा आउनु हाम्रो खुसी होइन्, बाध्यता हो । नेपाल मै रोजगारी भए हामी बिदेशको भूमिमा रगत÷पसिना बगाउने रहर थिएन । पापी पेटको सवाल थियोे, हामी आयौं । यो दुखको घडीमा घडीमा न हामी आफ्नो सरहद टेक्न पाउँछौ, न पराई देशमा भरपेट खान !





प्रतिकृया दिनुहोस्