सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

डोटी चैत्र २५(ई-रैवार)
कवि हेमन्त विवश ‘लकडाउन’का बेला गाउँ बढी सुरक्षित हुने विश्लेषण गरेर राजधानी काठमाण्डौँदेखी जन्मथलो डोटी आईपुगे । शहरी क्षेत्रभन्दा गाउँमा चहल–पहल कम हुने र सुरक्षित आहारव्यवहार हुनेभएकाले उनी गाउँमा आएका थिए ।
पछिल्ला केहीदिनयता भने आफ्नो विश्लेषण गलत साबित हुनथालेको महशुस हुनथालेको बताउछन् । ‘जम्मै गाउँभरी भारतबाट आएकाहरु सल्बलाईरहेका छन् । न कसैलाई रोकतोक छ, न सावधानी !,’ उनी भन्छन्,‘यसले त गाउँमा बढी जोखिम देखायो ।’
देशका अन्य क्षेत्रहरुमा गाउँ बढी सुरक्षित रहेको कथ्यहरु आईरहदा सुदूरपश्चिम प्रदेशका गाउँहरुको अवस्था कबि हेमन्तले भनेजस्तै छ । अहिले छिमेकी मुलूक भारतमा नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमण व्यापक मात्रामा झांगिदै छ । जहाँबाट अहिले लाखौ नेपाली नागरिकहरु सुदूरपश्चिम पसेका छन् । करिब एकलाख ४३ हजारभन्दा बढी भित्रिएको तथ्याङ्क सरकारी संयन्त्रले राखेको छ । ती सबै नागरिकहरु अहिले गाउँगाउँ पसेका छन् । जसले अहिले शहरभन्दा गाउँ बढी असुरक्षित छ ।
‘स्वभाविक रुपमा कोरोना जहाँ बढी ल्याईएको हुन्छ । त्यहीँ बढी यसको जोखिम हुन्छ,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज भट्ट भन्छन्,‘भारतबाट आउने नेपालीहरुमा कोरोना आउनसक्ने खतरा कसैले नकार्दैन । उनीहरु सबैभन्दा बढी गाउँ पसेका छन् ।’ राज्य उनीहरुलाई नेपाल पस्नासाथै अनिवार्य क्वारेन्टाईन गर्नबाट चुकेको उनले बताए ।
राज्यसंयन्त्रको तथ्याङ्कमा करिब एकलाख ४३ हजार जना नेपाली सुदूरपश्चिमका सीमाबाट भित्रिदा हाल दुईहजार तीनसयको हाराहारीमा मात्रै क्वारेन्टाईनमा छन् । बाँकी सबै घरमा पसेर घरपरिवारसंग बसेका छन् । गाउँगाउँ डुलिरहेका छन् ।
भारतबाट गाउँमा आएकाहरु घरभित्रै रहने, सामाजिक रुपमा नडुल्ने क्रियाकलाप पनि नदेखिएको बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष वुद्धिसागर विनाडीले बताए । ‘सबैकुरा राज्यले पनि गर्नसक्दैन् । उहाँहरुले स्वफूर्त रुपमा घरभित्रै बसिदिनुपर्ने हो । तर के भन्ने ? गाउँगाउँ डुलिरहेका छन् भन्ने गुनासो व्यापक छ,’ उनले भने । उनीहरु भारतबाट आएको दुईसाताभन्दा बढी समय भईसकाले चिन्ता थोरै कम रहेको प्रतिक्रिया दिए ।
सरोकारवालाहरुले पनि भारतबाटै आएकाहरुबाट संक्रमणको बढी जोखिम देखेका छन् । ‘हामीकहाँ बढी जोखिम भनेकैै भारतबाट आएकाहरुबाट हो । जो यतिबेला गाउँगाउँमा पुगिसक्नुभएको छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन्,‘उहाँहरुले सकभर आफै क्वारेन्टाईन भईदिए । गाउँगाउँ नडुलिदिए जोखिम कम हुन्थ्यो ।’

भारतबाट गाउँमा आएकाहरुबाट संक्रमणको जोखिम जत्तिको छ, उत्तिकै उपचार नपाउने समस्या पनि शहरभन्दा बढी गाउँमा छ । ‘गाउँमा मान्छे मरेपछिपनि केबाट म¥यो ? भन्नेसम्म थाहा नहोलाजस्तो छ,’ बोगटान फुडसिल गाउँपालिका–१ का प्रेमसिँह धामी भन्छन्,‘उसैपनि रोग दबाउन बाध्यभएकाहरु कहाँ परिक्षण गर्न जाने, कहाँ उपचार हुने ?’
जोखिम अत्याधिक छ । तर सतर्कता भने एकदम फितलो छ । पूर्वाधार तथा प्राबिधिक दक्षताको अभावमा स्थानीय सरकारहरु ‘लाचार’ देखिएका छन् । गाउँस्तरमा शंका गरिएको बिरामीलाई समेत ‘आईसोलेशन’ गर्नसक्ने स्तरको स्वास्थ्य संस्था छैन् । डोटी जिल्लामा पाँचवटा अस्पतालका २० वटा आर्ईसोलेसन कक्ष स्थापना गरिएका छन् । जसमध्ये सबै शहरी क्षेत्रका अस्पतालहरुमा मात्रै छन् । एम्बुलेन्स पनि डोटीमा १३ वटामात्रै छन् । गाउँपालिकाहरुमा आदर्श गाउँपालिकासंग एउटा पनि एम्बुलेन्स छैन् ।
‘थ्रोट स्वाँब’ लिनसक्ने पनि जिल्लामा तीनवटा अस्पताल मात्रै छन् । जसमा जिल्ला अस्पताल सिलगढी, सुजङ्ग अस्पताल, शैलेश्वरी अस्पताल दिपायल रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्