April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना विरुद्धको युद्धमा होमिएका एक डाक्टरको मर्मस्पर्शी कबिता

विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९) को महामारीसंग जुँझिरहेको छ । यो महामारी बाट मानवजातीलाई बचाउन विश्वभरका तमाम स्वास्थ्यकर्मी तथा चिकित्सकहरु जुझिँरहेका छन् । यो महामारीलाई दोस्रो विश्वयूद्धपछिको ठुलो संकटका रुपमा अथ्र्याईएको छ । अर्कोअर्थ ‘तेस्रो विश्वयुद्ध’ भनेर यसलाई टीप्पणी पनि भईरहेको छ । जसको लडाईमा सैन्य बल प्रयोग नभई चिकित्सक र स्वास्थ्यकर्मी लडिरहेका छन्
नेपाली परिवेशमा भने अवस्था फरक छ । जुन चिकित्सक र स्वास्थ्यकर्मीहरु यो लडाई लडिरहेका छन्, स्वयम् उनीहरुलाई सुरक्षा समाग्री उपलब्ध छैनन् । तरपनि उनीहरुले आफ्नो कर्म निभाईरहेका छन् ।
यस्तोमा डोटी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद भट्टले आफ्नो लडाई र त्यसमा आफुसंग रहेका हातहतियारका विषयमा चोटिलो रचना मार्फत सन्देश दिन खोजेका छन् ।
प्रस्तुत छ सोही कबिता ।

म सिपाही !                                                      डा. प्रमोद भट्ट (MDGP)


छैन बन्दुक, छैन गोली, न त छ डण्डा
रोकिदैन युद्ध, न त देख्छु कतै सेतो झण्डा

२४ घण्टे ड्यूटीमा छु, जाने कहिले घर
सोध्दा सबले ‘ठिकै छ’ भन्छु मात्र मास्कको भर

न बाढी हो, न भूकम्प हो, नत हो सर्पदंश
शत्रु कतै देखिदैन त्रासैत्रासमा छ हंश

अर्जुनझैँ युद्धमा छु, न त श्रीकृष्ण सारथी
‘रक्षा गर प्रभु’ भनी गर्छु ईश्वरको आरती

बाँचेकै छु, हाँसेकै छु, पीडा सबै लुकाई
भगवन भरोसामा युद्ध लड्ने म एक सिपाही