गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

कञ्चनपुर चैत्र १०(ई-रैवार)
पश्चिमी सीमानाका गड्डाचौकीमा अलपत्र परेका सयौँ नेपालीको उद्धार गरिएको छ । गड्डाचौकीमा अलपत्र चारसय भन्दाबढी नेपाली नागरिकहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि सोमबारबाट लागुहुने गरी चीन र भारतसंगका सीमानाका बन्द गरेको थियो ।
सीमा नाकाहरु बन्द गरिएपछि भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्कने नेपालीहरु अलपत्र परेका थिए । उनीहरूको सोमबार साँझ उद्धार गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । उनले भने,‘उद्धार गरिएका मध्ये गर्भवती, नवजात शिशु र वृद्धवृद्धाहरूलाई आकस्मिक स्वास्थ्य जाँच गराई गन्तव्यसम्म पु¥याउन गृह मन्त्रालयसंग अनुरोध गरेका छौ ।’ त्यस्तै, अन्य नागरिकहरूको पनि एकएक गरेर स्वास्थ्य परीक्षण गर्ने र लक्षण देखिएमा कम्तीमा १४ दिन निगरानीका लागि क्वारेन्टाइनमा राखिने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सोमबार बसेका बैठकले विदेशबाट आएका नागरिकहरूको मनोबल कमजोर बनाउने र हीनताबोध गराउने किसिमका गतिविधि प्रति सजग गराउने निर्णय समेत गरेको छ ।





प्रतिकृया दिनुहोस्