नेपालबाट मनसुन बाहिरिन थाल्यो, केही दिनमै सबै भूभागबाट बाहिरिने

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार (असोज १७) सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो।
महाशाखाले शनिबार जारी गरेको सूचनामा भनेको छ, “आज मिति २०८३ असोज १७ का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ।”
मनसुनी वायु कमजोर हुँदै गएकाले आगामी केही दिनमा नेपालका बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ हो। यस वर्ष भने सरदर मितिभन्दा केही दिनपछि मात्र मनसुन बाहिरिन थालेको हो। अब मनसुन क्रमशः सुदूरपश्चिमबाट पूर्वतर्फ सर्दै कोशी प्रदेश हुँदै नेपालबाट पूर्ण रूपमा बाहिरिने महाशाखाको अनुमान छ।
नेपालमा सामान्यतया कोशी प्रदेशबाट मनसुन भित्रिने र त्यही क्षेत्र हुँदै बाहिरिने गर्छ। मनसुनको अवधिमा नेपालमा वार्षिक वर्षाको ठूलो हिस्सा हुने गरेको छ।
अंग्रेजी पात्रोअनुसार जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई नेपालमा मनसुन अवधि मानिन्छ। यी चार महिनामा नेपालमा वर्षभरि हुने कुल वर्षाको करिब ८० प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



प्रतिकृया दिनुहोस्