रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी तथा आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल गरी आवश्यक निर्णय गरिनेछ।
त्यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ।
बैठकमा विविध विषयसमेत कार्यसूचीमा राखिएको प्रवक्ता खरेलले जानकारी दिएका छन्।



प्रतिकृया दिनुहोस्