October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा शनिबार बिहान पौने ४ बजे सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दुई जना भने सकुशल रहेका छन्।

मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ। अन्य पाँच मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ। हाल उनीहरूको उपचार भइरहेको छ।