September 22, 2026, Tuesday
२०८३ आश्विन ६

बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाई अन्त्येष्टि

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ।

नयाँ पत्रिका दैनिकमा कार्यरत थामी भदौ १० गते केरुङ नाकाबाट भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका थिए। उनको शव फेला नपरेपछि हिन्दू संस्कारअनुसार कुशको शव बनाई अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिका क्रममा नेपाल पत्रकार महासंघले थामीको पार्थिव प्रतीकमा महासंघको झन्डा ओढाएको थियो। महासंघका प्रतिनिधि तथा उपस्थित पत्रकारहरूले उनको सम्झनामा एक मिनेट मौनधारणसमेत गरेका थिए।

आर्यघाटमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थामीका आफन्त, सहकर्मी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो। उपस्थित पत्रकारहरूले थामीको योगदान र पत्रकारिताप्रतिको समर्पणको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।