चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कार पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा अचानक आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि कारभित्र एक जना जलेर मृत अवस्थामा फेला परेका हुन्।
मृतकको परिचय खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा आगो लाग्नुको कारण भने अहिलेसम्म खुलेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।





प्रतिकृया दिनुहोस्