September 11, 2026, Friday
२०८३ भाद्र २६

बाजुरामा खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन्।

जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह मंगलबार बाख्रा चराउन गएका बेला कालसिङ्गे खोला तर्ने क्रममा बगेका हुन्।

मंगलबार दिउँसो करिब १ बजे खोला तर्ने क्रममा किशोरलाई बगाएको स्थानीयले बताएका छन्। घटनाबारे स्थानीय खडक भण्डारीले साँझ ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।

सूचना पाएलगत्तै प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको कमान्डमा तीन जनाको प्रहरी टोली खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ परिचालन भएको छ।

घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब चार घण्टा पैदल पश्चिमतर्फ पर्छ। बेपत्ता किशोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।