चितवनमा सनाखत हुन नसकेका १९९ शव व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका सनाखत हुन नसकेका १९९ शव व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शव व्यवस्थापन गरिएको हो।
चितवनमा हालसम्म २७२ शव फेला परेका छन्। तीमध्ये १२ शवको सनाखत भइसकेको छ। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्।
सनाखत हुन नसकेका शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको पौडेलले बताए। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डिएनए मिलान गरी पहिचान गर्न सकिने व्यवस्था मिलाइएको छ। शव व्यवस्थापन गरिएको स्थानमा पहिचानका लागि सङ्केत चिह्नसमेत राखिएको प्रहरीले जनाएको छ।
फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य अवशेष रहेका छन्।
नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।





प्रतिकृया दिनुहोस्