खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

डोटी मंसिर ३०(ई-रैवार)
बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले तापक्रम माईनस ६÷७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ ।
रेखदेखका लागि बनाईएका सम्पूर्ण मार्गहरु अबरुद्ध भएका छन् । अवरुद्ध मार्गहरु खोल्ने कार्यमा नेपाली सेना संलग्न रहेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । ‘बाक्लो हिउँ परेको र संगै अत्याधिक चिसो भएकाले खोल्न कठिनाई भैरहेको छ,’ उनले भने,‘तैपनी सेनाले प्रभावकारी रुपमा काम गरिरहेकाले आधाभन्दा बढी बाटोहरु सफा भैसकेका छन् ।’
यसरी बाक्लो हिमपात र निरन्तर झरीरहेको तापक्रमका कारण जीवजन्तुहरु बसाईसर्ने क्रम तीब्रतर हुँदा जोखिम बढ्दै गएको छ । ‘हिउँ पर्दा बन्यजन्तुहरु स्वभाविक रुपमा ‘लो अल्टिच्यूट’(कम उचाई)’ भएको क्षेत्रमा झर्छन्,’ प्रमुख संरक्षण अधिकृत घिमिरेले भने,‘जहाँ मानिसको बासस्थान हुन्छ । यसले जोखिम बढाउछ ।’ यसरी मानिस र बन्यजन्तु नजिक हुँदा ‘द्वन्द्व’ निम्तने सम्भावना बढी हुने उनले बताए । ‘यसरी गाउँ नजिक हुँदा हिंस्रक जनावरका कारण मानिस र घरपालुवा जनावरलाई जोखिम हुन्छ,’ उनले भने,‘अर्काे भनेको संरक्षित जीवहरु नजिक आएपछि चोरीशिकारीहरु पनि मौलाउछन् । यसले निकुञ्ज र समुदाय बिचमा द्वन्द्व निम्तने खतरा हुन्छ ।’
यो समय संरक्षणका दृष्टिकोणबाट सबैभन्दा जोखिमको समय रहने खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय बताउछन् । ‘यतिबेला बन्यजन्तुहरु नजिक आएर कृषकले लगाएका बालीनालीमा नोक्सानी पु¥याउछन् । घरपालुवा जीवजन्तुमा पनि जोखिम बढ्छ । हिंस्रक जनावरका कारण मानवीय जोखिम पनि हुन्छ,’ उनले भने,‘थप भनेको चोरीशिकारी गर्नेहरुका लागि पनि यो समय सबैभन्दा उत्तम समय हो ।’
खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र दुर्गम रहेको र सबैको चासो भन्दा बाहिरको क्षेत्र भएकाले चोरीशिकारी बढेको बेला–बेला गुनासो आउने गरेको छ । चोरीशिकारी गर्नेहरुका लागि हिउँदे समय सर्बोत्तम समय रहेको स्थानीयहरु बताउछन् ।
यो जोखिमको समय भएकाले संरक्षण्का गतिबिधिहरु चुस्त भएर संचालन हुनुपर्ने सरोकारवालाहरु बताउछन् । संरक्षणमा सक्रिय राष्ट्रिय निकुञ्ज कार्यालयमा हाल ५७ जनाको दरबन्दी छ । मेजर सहितको नेपाली सेनाको गुरुगोरख गुल्म संरक्षणमा तैनाथ छ । ‘नेपाली सेना र हाम्रो टोली यतिबेला संयूक्त रुपमा चनाखो भएर बसेका छौ । खास्सै समस्या हुदैन् । प्रमुख संरक्षण अधिकृत घिमिरेले भने । संरक्षणकै लागि ९ वटा सिमाक्षेत्रमा क्याम्प र आवश्यकता अनुसार गस्ती भईरहने उनले बताए ।
मध्यपहाडी क्षेत्रमा अबस्थित खप्तड राष्ट्रिय निकुञ्ज जैविक तथा पर्याबरणीय बिबिधताका दृष्टिकोणले नेपालकै नमूना क्षेत्रमा पर्दछ । काठमाण्डौ शिबपुरी र खप्तड मात्रै नेपालको मध्यपहाडी क्षेत्रका संरक्षित क्षेत्र हुन् । अन्य क्षेत्रहरु हिमाली र भित्रि मधेष तथा तराई क्षेत्रमा पर्दछन् । यसैले पनि खप्तड राष्ट्रिय निकुञ्ज जैबिक तथा पर्यावरणीय बिबिधताका दृष्टिकोणले महत्वपूर्ण रहेको संरक्षणबिद्हरु बताउछन् ।
खप्तडमा नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मूनालको बासस्थान छ । यसबाहेक ३ सय भन्दा बढी प्रजातीका चरा खप्तडमा पाईन्छन् । यस्तैे स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी मृग, ध्याँसे चितुवा र ब्वाँसो खप्तडमा पाईन्छन् । यसबाहेक हिमाली कालो भालु, चितुवा, बदेल, मृग, हरिण सहित थप ३० प्रजातीका अन्य स्तनधारी पनि पाईने खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । केही अध्ययनहरुले रातो पाण्डा पनि खप्तडमा पाईने जनाएका छन् । यस्तै ‘बझाङ्गी पा’ नामक दुर्लभ छेपारो र ‘खस्रे भ्यागुता’को खप्तड क्षेत्रमा मात्रै बसोबास रहेको संरक्षणकर्मीले जनाएका छन् ।





प्रतिकृया दिनुहोस्