धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोहका ९ जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको गिरोह बस्ने घर (फ्ल्याट) मा छापा हानेर ९ जना पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा घर (फ्ल्याट) भाडामा लिएर अनाधिकृत रूपमा हुण्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा खानतलासी गर्दा अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आशंकामा ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतका नागरिक सहित ९ जना रहेका छन् । भारतको दिल्लीको रविकुमार सुर्यबंशी, भारतको हरियाणाका दीपकुमार जाट, कैलालीको गौरीगंगाका प्रेम बहादुर साउद, उदयपुरको त्रियुगाका दिपिन मगर, चितवनका जितेन्द्र कट्टेल, ललितपुरका राजकुमार मोक्तान, काडमाडौका राजन चुडाल, झापाका हरिप्रसाद चापागाई र धनगढी उपमहानगरपालिका–३ का ज्ञानेन्द्र ढकाल पक्राउ परेका छन् ।
प्रहरीले घटनास्थलबाट विदेशी मुद्रा कारोबारमा प्रयोग हुने विभिन्न सामग्री तथा सफ्टवेयरसमेत बरामद गरेको जनाएको छ । बरामद सामग्रीको परीक्षण तथा आर्थिक कारोबारको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्