June 29, 2026, Monday
२०८३ असार १५

नेपाल एसियन गेम्सका निम्ति छनोट

काठमाडौं : मलेसियाले एसियन गेम्स पुरुष क्रिकेटको छनोटमा चीनविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ । यो नतिजापछि समूह ‘ए’ बाट मलेसियासँगै नेपालले पनि एसियन गेम्समा स्थान पक्का गरेको छ । 

चीनको यो लगातार दोस्रो हार हो । यसअघि चीन नेपालसँग २२१ रनले पराजित भएको थियो । 

मंगलबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा चीनले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले ७.५ ओभरमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍यो ।

मलेसियाका कप्तान मोहम्मद हाजिक आइमानले अविजित ४४, अस्लाम खानले १८ र मोहम्मद अक्रमले अविजित १० रन जोडे । 

चीनका लागि एकमात्र विकेट टियान सिन क्वानले लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभर नौ विकेट गुमाएर ८४ रनको योगफल तयार पारेको थियो । 

चीनका शेनजियान झेङले २९ र याङ वाङ्जीले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

मलेसियाका विजयी उन्नीले चार विकेट लिए । पवनदीप सिंहले दुई विकेट हात पार्दा सायद अजिज र वीरनदीप सिंहले समान एक विकेट लिए । 

यो नतिजासँगै समान दुई अंक जोडेका मलेसिया र नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएका हुन् । छनोटको सेमिफाइनलमा पुग्ने टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट हुने प्रावधान छ । 

अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । यो खेलले समूह विजेताको टुंगो लगाउनेछ ।