January 29, 2026, Thursday
२०८२ माघ १६

राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ : गृह मन्त्रालयले निर्वाचनमा राष्ट्रिय झण्डा दुरूपयोग गरिए कारबाही गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कार्य गरे कारबाही गरिने जानकारी दिएका हुन्।

प्रवक्ता काफ्लेका अनुसार राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने भन्नेबार ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ भएको हुँदा सो अनुसार मात्रै प्रयोग गर्न अनुरोध गरिएको छ। 

विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरूपयोग गर्न नपाइने समेत उनले बताएका छन्। यस्तै, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन नपाइने भनिएको छ।

‘झण्डा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतिक/चित्र राख्न, फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओहालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

निर्वाचनमा दल वा उम्मेदवारले जुलुस, आमसभा र घरदैलो भेटघाट गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने जनाएको छ।

निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ।