March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

काठमाडौँ : नेपाली काँग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनीत गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिन समिति संयोजकमा सहमहामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद हुमागाईँ, गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनीत गरेको हो ।

केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पार्टीको १५ औं महाधिवेशनको कार्यतालि ल्याएको थियो।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यतासम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नका लागि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन भएको हो। 

साथै कार्यवाहक सभापति खड्काले केन्द्रीय निर्वाचन समितिमा सदस्यहरू पनि मनोनीत गरेका छन्। केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई मनोनीत गरिएको हो।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्दैछ। उक्त महाधिवेशन तयारी र सम्पन्न गर्नका लागि यी दुई समिति गठन भएका हुन्।