प्रधानमन्त्रीले आज दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले दिएको जानकारी अनुसार उनीहरुलाई छलफलका लागी अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको जानकारी दिएका हुन।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ। प्रधानमन्त्री कार्कीले तिहार अगाडि दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा जेनजी प्रतिनिधिहरूलाई बोलाइएको थिएन ।
बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको समयमा निर्वाचन सफल पार्नका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिका, परिवर्तित परिस्थितिमा जेनजीले उठाएका माग सम्बोधन लगायत विषयमा छलफल हुने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहेको जानकारी दिएका छन् ।




प्रतिकृया दिनुहोस्