April 16, 2026, Thursday
२०८३ बैशाख ३

सार्वजनिक सेवालाई प्रभावकारी वनाउन नागरिक निगरानी समिति गठन

डोटी साउन २९(ई-रैवार): सार्वजनिक सेवा प्रबाहलाई प्रभावकारी बनाउन डोटीमा बुधबार नागरिक समाजका प्रतिनिधीहरुको सहभागितामा नागरिक निगरानी समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति संयोजक राम बहादुर ऐरको संयोजकत्वमा ९ सदस्यीय निगरानी समिति गठन गरिएको हो । सदस्यमा सम्बन्धीत स्थानीय तहको उप प्रमुख तथा उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, सामुदायिक बिकास केन्द्र, सिड नेपाल, सोर्स नेपाल र सदस्य सचिवमा एफएमडिसी रहेको छ ।
समितिले बुधबार नै शिक्षा तथा स्वास्थ्य क्षेत्रको निगरानीका लागि आवश्यक सूचकहरु पनि तयार पारेको थियो । संयोजक राम बहादुर ऐरले जिल्ला समन्वय समितिको जिम्मेवारीमा नागरिकहरुको संलग्नतामा अनुगमन र निगरानी गर्नुपर्ने भएपनि बजेट अभावमा अघि बढ्न नसकेको बताए । उनले नागरिकहरुको संलग्नतामा आफु जवाफदेहीता र पारदर्शिताका लागि काम गर्न उत्सुक रहेको प्रतिकृया दिए ।
कार्यक्रममा नागरिक निगरानीको महत्व र आवश्यकता सम्बन्धी सहभागिहरुलाई अभिमुखिकरण समेत गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको खुला छलफलमा स्थानीय तहहरुमा नागरिकहरुले भुमिका नै नपाइरहेको गुनासो अधिकांसले पोखेका थिए । आफैले बिनियोजीत बजेटको जनप्रतिनिधीहरुले आफै अनुगमन गर्ने प्रावधान रहेको प्रति नागरिक समाजका प्रतिनिधीहरुले असन्तुष्टी ब्यक्त गरे । स्थानिय तहमा पनि निगरानी बढाउनु पर्ने जोड दिदै गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले नीतिगत संशोधनमा पनि पैरबी गर्न जरुरी रहेको बताए । कार्यक्रममा पत्रकार, नागरिक समाजका संघसंस्था, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
बिकास र सामाजिक परिवर्तनका लागि संचार९एफएमडिसी० ले डोटीमा सुशासन र पारदर्शिताका लागि नागरिक समाज र मिडियाहरुको सशक्तिकरणमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको जिल्ला अधिकृत मोहन शाहीले बताए ।