प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिएको हो।
गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री कार्कीको सम्बोधनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा निधन भएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रतिमृतक परिवार १५ लाखका दरले राहत उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय यसअघि नै गरिसकेको छ।



प्रतिकृया दिनुहोस्