April 15, 2026, Wednesday
२०८३ बैशाख २

बडीमालिका तीर्थयात्रा शुरु

डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् ।
मेलामा तीर्थयात्रा भर्न हरेकबर्षझैँ यसवर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीबाट सरकारी ‘पेटारो’(पुजा सामाग्री) शुक्रबार बडीमालिका प्रस्थान गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयबाट नेपाली सेना र नेपाल प्रहरीको बिशेष सलामी तथा भव्य सम्मानका साथ पेटारो बडीमालिका प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट छुटेपछि सिलगढी बजार परिक्रमा गर्दै प्रसिद्ध शैलेश्वरी मन्दिर हुदै पेटारो अघि बढेको छ ।
राणाशासनकाल देखी नै तत्कालिन ‘डोटी गौडा’बाट सो सरकारी पेटारो बडीमालिका पठाउने प्रचलन छ । सोही अनुसार हरेक बर्ष डोटीबाट पठाईने यो पेटारोको महत्व बिशेष रहदै आएको जानकारहरु बताउछन् । ‘पहिले सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुको प्रशासन डोटी गौडाबाट संचालन हुन्थ्यो । सरकारी प्रसाद लगेर डोटीले प्रतिनिधित्व गथ्र्यौ,’ जिल्ला प्रशासन कार्यालयका खरिदार तेज बहादुर खड्काले भने, ‘सोही अनुसार जिल्ला प्रशासन कार्यालयले अझै पनि सरकारी डोल बर्षेनी पठाउदै आएको छ ।’
जिल्ला प्रशासन कार्यालयबाट निस्किएको पेटारो शैलेश्वरी मन्दिर हुदै नाचन्थलीमा रहेको कालिका मन्दिरसम्म घुमाउने चलन छ । भव्य नाच गान सहित घुमाइने पेटारोमा सरकारी कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना तथा सर्बसाधरणको उल्लेख्य सहभागिता हुने गर्छ ।
बडीमालिका पुजामा सहभागि भएर फर्किन १५ दिन सम्म लाग्ने गर्छ । सरकारी कर्मचारीहरुले सो पेटारो लैजाने गर्छन । २०५१ सालसम्म मालिकाको पुजाका लागि सरकारबाट बजेट आउने गरेको भएपनि आजभोली रोक्का गरिएको छ । त्यसयता जिल्ला प्रशासनले आफै स्रोत जुटाएर पठाउदै आएको छ । पेटारोमा सुनको जनै, चादीको छत्र, मालिकाको मुर्ती, काइयो, ऐना, बिनायो, दिपायलको घुरुडी(धानको पातबाट बनाईएको गुच्छा) लगायतका पुजा सामाग्रि हुन्छन् ।
जिल्ला प्रशासनबाट सुरु हुने पेटारोलाई सेना प्रहरीले सलामी दिएपछि शैलेश्वरीमा लगेर पुज्ने गरिन्छ । शैलेश्वरीमा पुज्दा सिलगढीबासीले पुजा सामाग्री मालिकामा पठाउनका लागि दिने गर्छन । त्यहाबाट नाचन्थलीको कालिकामा लगेर पुजारी भगीरथले पुजा सामाग्री थप्ने गर्छन । त्यहाँ पनि प्रहरी सेनाले सलामी दिएपछि पेटारो अघि बढ्छ ।
यो संगै क्रमशः डोटी, अछाम, बाजुरा लगायतका जिल्लाहरुबाट सरकारी पेटारोसंगै तीर्थयात्रीहरु अघि बढ्ने प्रचलन रहीआएको छ । यद्यपी पछिल्ला केही समयता तीर्थालु भक्तजनहरु छोटो छरितो यात्रा गर्नका लागि ढिलो गएर पनि फटाफट यात्रा भर्ने गर्दछन् । तर बडीमालिका तीर्थयात्रा जाँदा परम्परागत रुपमै चल्तीमा आएको यात्रा भरेर अघि बढ्दा पुण्य मिल्ने जानकारहरु बताउछन् । ‘बडीमालिका भगवती त्यहाँ जाँदा जसरी यात्रा गर्नुभएको थियो, जहाँजहाँ बास बस्नुभएको थियो सोही अनुसार डोटीबाट सरकारी पेटारो अघि बढ्ने प्रचलन छ,’ शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्ट भन्छन्,‘बडीमालिका भगवतीकै पाईला पछ्याएर उहाँकै शैलीमा यात्रा गरेर बडीमालिका दर्शन गर्दा बढी पुण्य मिल्ने मान्यता छ ।’