April 18, 2026, Saturday
२०८३ बैशाख ५

सन्दीपले ह्याट्रिकसहित ५ विकेट लिएपछि पहिलाे अभ्यास खेलमा नेपाल विजयी

काठमाण्डाै : पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले अभ्यास खेलमा आज घरेलु टोली एसिटीलाई ४१ रनले हराएको हो।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो।  

नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । करण केसीले पहिलो ओभरमा २ विकेट लिंदै नेपाललाई उत्कृष्ट सुरूवात दिलाए। ए जोसेफ र म्याक नमारा रन नजोडी करणको बलमा आउट भए।

मात्र ४ बलमा २ विकेट गुमाएको एसिटीले रनको खाता नखोल्दै २ विकेट गुमायो। डि दुबे तेस्रो विकेटको रुपमा मात्र ८ रनमा गुलशन झाको बलमा पबिलियन फर्किए।

त्यसपछि पनि नेपाल निरन्तर विकेट झार्न नेपाल सफल भयो। कियोग २५ रनमा र मारोन शुन्यमा आउट भए। यतिखेर एटिसीले ८४ रन बनाउँदा ६६ रन जोडेको थियो।

त्यसपछि लेग स्पिनर सन्दीपले १२ औं ओभरको ५ औं बलमा ९ रन बनाएका होगनलाई एलबिडब्लु धरापमा पारे। लगतै अर्को बलमा बोर्सलाई बोल्ड आउट गरे। यो ओभर सकियो।

यसपछि १४ औं ओभरको पहिलो बलमा राहमानलाई एलबिडब्लु आउट गर्दै सन्दीपले ह्याट्रिक विकेटको सफलता प्राप्त गरे। सन्दीपले ४ ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए। करणले २, रुपेश सिंह, गुलशन झा र कुशल भुर्तेलले समान १ विकेट लिए।

एसिटीका‌ लागि जे स्मिथले अर्धशतक बनाए। ५० रन बनाएका उनलाई रुपेशले आउट गरे। के ब्रुनकेरले नकआउट २७ र के केओगले २५ रन जोडे भने अन्य कुनै ब्याटर‌ चलेनन्।

त्यसअघि ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक‌मा नेपालले ८ विकेट  गुमाएर १ सय ७७ रन बनाएको थियो ।

आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २ चौका र १ छक्काका साथ ३६ रन जोडे।

आरिफ शेखले २४, दीपेन्द्र सिंह ऐरीले २१ , गुलशनले नटआउट ८ र अर्का ओपनर कुशलले ७ रन बनाए। भीम सार्की, लोकेश बम र रुपेश सिंहले रनको खाता खोल्न सकेनन् । इभान, रहमान ,दुबे र ब्रुनकरले समान २ विकेट लिए।

टप एन्ड टि-ट्वान्टी सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपाली टोलीले पहिलो अभ्यास खेलको हो।