टप एन्ड टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, भोलि होबार्ट ह्युरिकेन्ससँग खेल्ने

काठमाडौं : नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ।
नेपाललाई आज मेलबर्न स्टार्सले ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो।
ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौका सहित २५ रन जोडेर पहिलो विकेटको रुपमा पबिलियन फर्किए। लगतै भीम सार्की मात्र १ रनमा आउट भए। दुई विकेट गुमाउँदा नेपालले ३२ रन जोडेको थियो।
तेस्रो विकेटको लागि आसिफ शेख र कप्तान रोहित पौडेलले ८७ रनको साझेदारी गरे। यो क्रममा आशिफले अर्धशतक प्रहार गरे। ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै उनले अर्धशतक बनाए। रोहित ३३ रनमा आउट भए।
यसपछि आसिफ ५३ रन जोडेर रन आउट भए। नेपालको लागि उनले नै सर्वाधिक रन जोडे। लगत्तै आश गरिएका दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए।
पाँचौं विकेटको नोक्सानीमा नेपालले १ सय २४ रन बनाएको थियो। कुशल मल्ल पनि ११ रनमा आउट भए। आरिफ शेख अविजित ८ रनमा रहे।
बलिङमा अष्टिन एनलेजार्क र डाउ वारेनले समानले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।
ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो। तर यसपछि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। उनीहरूले १ सय २२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। दुवैले अर्धशतक बनाए।
यो साझेदारी सन्दीप लामिछानेले तोडे। ४७ बल खेलेका बेल्कले ७ चौका र २ छक्का सहित ७४ रनको सानदार ब्याटिङ गरे। थोमसले ४६ रन जोडे। उनले ४६ बलको सामना गर्दै ७ चौका र १ छकमका प्रहार गरे। साम हर्पे अविजित ११ रनमा रहे।
बलिङमा सन्दीपले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे। सोमपाल र सहाब अलामले १/१ विकेट झारे।
नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेशको ‘ए’ टिमसँग हारेको थियो। अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ।
यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ। नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम छन् ।
प्रतिकृया दिनुहोस्