April 17, 2026, Friday
२०८३ बैशाख ४

कैलाली कारागारमा अन्यौल कायमै, फेरि फेरिए जेलर

धनगढी : कैलाली कारागारका फेरि जेलर फेरिएका छन्। गत शुक्रबार राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि काजमा आएका जेलरजालन्धर भुसालको हप्ता दिनको काज सकिएर फेरि अर्को जेलर आएका हुन।

नयाँ कारागारको जेलरका रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुंगानालाई कैलाली कारागार पठाएको हो। कैलाली कारागारका नायब सुब्बा ज्ञानेन्द्र ओझाले ढुंगाना शनिबार यहाँ आइपुगेको बताएका हुन।

कैलाली कारागारको ब्लक ए’मा रहेका कैदीबन्दीले भित्ता फुटाएर गत शुक्रबार मध्यरातमा ब्लक बी का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए। सो क्रममा लागुऔषध मुद्दामा कैद सजाय बिताइरहेका धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो। भने अन्य ४८ जना घाइते भए।घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ।

सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचाररत ४५ मध्ये ३४ जना डिस्चार्ज भएको कारागारका नायब सुब्बा ओझाले बताए। उनीहरू डिस्चार्ज भएपनि तत्काल कारागार फर्काउदा घटना दोहोरिनसक्ने भन्दै अस्पतालमै राखिएको छ। डिस्चार्ज भएका मध्ये चार जना कञ्चनपुर र एक जनाको नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ ।

कैलाली कारागारमा हिंसात्मक घटना हुनुका पछाडि जिल्लास्थित सुरक्षा निकायको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गम्भीर लापरवाही रहेको भन्दै गृह प्रशासनले मन्त्रालय तानेको छ।उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकार कृष्णप्रसाद लम्साल कैलाली आएका छन् ।